
महोत्तरी । नेपाल–भारत सिमाना जिल्ला समन्वय समितिको बैठक सम्पन्न भएको छ । महोत्तरीको मटिहानीमा सोमबार जिल्ला समन्वय समितिको बैठक सम्पन्न भएको हो ।
तिहार र छठपर्वको अवसर पारेर शुभकामनासहित सिमा नाकाको सुरक्षासम्बन्धी नियमित बैठक रहेको बताइएको छ । बैठकमा जानुपूर्व भारतीय सुरक्षा निकायका प्रमुखलाई मटिहानीमा नगरप्रमुख हरिप्रसाद मण्डलले स्वागतसहित सम्मान गरेका थिए ।
सो अवसरमा मटिहानीको प्रसिद्ध ऐतिहासिक एवं पौराणिक लक्ष्मीनारायण मठको अवलोकनसहित पूजापाठ गराइएको थियो भने लक्ष्मीसागरमा लक्ष्मीनारायण भगवान्को धार्मिक विधि रूपमा आरतीसमेत गरिएको थियो ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको बैठकमा भारतको सीतामढी र नेपालको महोत्तरी, सर्लाही र रौतहटको सुरक्षा अधिकारीको उपस्थिति रहेको थियो ।
जिल्लाको सीमानाकामा रहेको मटिहानी होटेलमा सम्पन्न बैठकमा नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल तथा भारतीय पक्षबाट विहार राज्यको सीतामढी जिल्लाको डिआइजी श्रीबाबु रामको नेतृत्व रहेको छ ।
बैठकमा सीतामढी जिल्लाको डिएम रिची पाण्डेय, सुपरिन्टेन्डेन्ट अफ पुलिस मनोजकुमार तिवारीसहित नेपालबाट सर्लाही, रौतहटका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखको उपस्थिति रहेको छ ।