ट्रेन्डिङ

सिर्सिया नदी प्रदूषण गर्ने श्री सिद्धी टेक्स्टाइललाई १ लाख २० हजार रुपैँया जरिवाना

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषणमुक्त बनाउने अभियानलाई थप तिव्र पारेको छ । महानगरपालिकाले नदी प्रदूषणमुक्त बनाउने अभियान अन्तर्गत राती पनि अनुगमन गरेको हो ।

दैनिक दिनमा अनुगमन गर्दै आएको महानगरको टोलीले राति अनुगमनको क्रममा आज एक उद्योगलाई जरिवाना समेत गरेको छ ।

सिर्सिया नदीमा सोझै ढल मिसाएर नदी प्रदुषण गरेको भन्दै टोलीले श्री सिद्धी टेक्स्टाइललाई कारबाही स्वरुप जरिवाना गराएको हो । सो टेक्स्टाइललाई १ लाख २० हजार रुपैयाँ जरिवाना तिराएको वातावरण शाखाका प्रकाश एैरेले बताए ।

महानगरले हाल छठ पर्वलाई लक्षित गर्दै कात्तिक १ गतेदेखि दैनिकरूपमा अनुगमन गर्दैछ । वीरगन्ज  र जीतपुरसिमरा उपमहानगरपालिकाको सहकार्यमा यहाँका विभिन्न उद्योगहरूको प्रदूषण नियन्त्रणमा प्रयास जारी रहेको छ ।

यसबीच, दुबै स्थानीय तहहरूले उद्योगहरूलाई श्रीसिया नदीमा प्रदूषित पानी नफाल्न निर्देशन दिएका छन्, जसका कारण यसपटक छठ पर्व श्रीसिया नदीमै मनाउन सकिने वातावरण सिर्जना भएको महानगरले जानकारी दिएको छ ।

वीरगन्जको लाइफ लाइनका रुपमा रहेको श्रीसिया नदी विगत तीन दशक देखि प्रदुषणको सिकार बन्दै आएको थियो । पर्सा–बारा औद्योगीक कोरिडोरमा रहेका मध्ये करिब ४५ उद्योगहरुले उद्योगबाट निस्कने फोहोर जन्य पदार्थ र रसायनयुक्त फोहोर पानी सिधै नदीमा बिसर्जन गर्दै आएका थिए ।


नदीलाई प्रदुषण मुक्त बनाउने अभियान थालेको वीरगन्ज महानगरपालिकाले पहिले पनि पाँच वटा उद्योगहरुलाई जनही तीन तीन लाख रुपैयाँका दरले जरिवाना गरेको थियो । जसमध्ये श्री सिद्धी टेक्स्टाइल पनि एक थियो ।

जरिवाना गर्दासमेत उद्योगहरुले नदीमा फोहोर र प्रदुषित पानी सिधै बिसर्जन गर्दै आएकोमा पछिल्लोपटक ती उद्योगहरुमा महानगरले दण्ड स्वरुप फोहर थुपारेपछि नदी सफा देखिन थालेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै