वीरगन्ज ।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् ।
पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो बताएका हुन् ।
मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो नेतृत्वको सरकारले अहिले अगाडि बढाएको उनले बताए ।
मुख्यमन्त्री सिंहले भने,‘संघीयताको वास्तविक अनुभूती अब मधेसका जनताले गर्न पाउँछन् , अबको ६ महिनाभित्रमा मधेस सरकारले यहाँका जनतालाई संघीयताको अनुभूती गराउँछ ।
उनका अनुसार विगतको सरकारको जस्तो मधेस प्रदेश सरकारका योजनाको लाभ सत्ताधारी दलका कार्यकर्ताले नभई अब त्यसको लाभ सिधै जनताले पाउने छन ।
उनले भने,‘ कार्यकर्ता पोस्ने काम यो सरकारले गर्दैन , हरेक योजना जनताको आवश्यकता र चाहना अनुसार वितरण हुन्छ।’
मुख्यमन्त्री सिंहले संघ सरकार र उसका मातहतका कर्मचारी संयन्त्रको असहयोगका बाबजुदपनि प्रदेश सरकारले ती चुनौतीलाई चिर्दै मधेसको विकास र समृद्धिका लागि काम गरिरहेको जिकिरपनि गरे ।
युवाको विदेश पलायन रोक्न प्रदेश सरकारले मधेसमै रोजगारी र अवसरको सृजना गर्न कृषि, पर्यटन लगायतका क्षेत्रमा काम गरिरहेको उनले बताए ।
मधेस सरकारले वीरगन्जमा आइटी पार्क , माटो पार्क निर्माण लगायतका महत्वकांक्षी योजनाहरु चालु आर्थिक वर्षको बजेटमा समावेश गरिसकेको जानकारी गराउँदै उनले त्यसका लागि जग्गा खोजीको काम भइरहेको बताए ।
कार्यक्रममा विभिन्न दलका गरि ६ सय भन्दा बढी नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेको र उनिहरुलाई मुख्यमन्त्री सिंहले टीका लगाएर पार्टीमा स्वागत गरेको जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए ।
कार्यक्रम संयोजक बृजेश्वर प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रमलाई केन्द्रिय सदस्यहरु हरिहर साह कानु,सिमा गुप्ता र श्याम गुप्ता, जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ, नेतृ रम्भा मिश्रा,नेता सुनिल मुखिया ,नजमा खातुन ,बिनय यादव ,चन्दन चौहान, अमरनाथ राठौर,लगायतलेपनि सम्बोधन गरेका थिए ।