विराटनगरमा जारी १९ वर्षमुनिको राष्ट्रिय पुरुष क्रिकेटमा गण्डकीले सुखद सुरुवात गरेको छ।
आइतबार विराटनगरको मेरिबोलेन ज्वाला क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले मधेस प्रदेशलाई ९ विकेट हराएको हो।
टस जितेर ब्याटिङ रोजेको मधेसले ३५।३ ओभरमा अलआउट हुँदै ८२ रन बनाएको थियो। मधेसका लागि जितेश मण्डलले ३२ रन बनाए।
५० ओभरको खेलमा मधेसलाई सस्तैमा समटेको गण्डकीका लागि अपराजित पौडेलले १० आभेरमा १७ राख खर्चिएर ५ विकेट लिए। गण्डकीले निर्धारित लक्ष्य १ विकेटको क्षतिमा १८।२ ओभरमा पूरा गरेको थियो।
गण्डकीका लागि ओपनरद्वय सोहेल कुँवरले अविजित ३४ र क्याप्टेन अर्जुन कुमालले २४ रनको योगदान दिए। पहिलो खेलमा जित हात पारेको गण्डकीले प्रतियोगितामा २ अंक जोडेको छ।
त्यसैगरी उद्घाटन खेलमा कोशीलाई पराजित गरेको मधेसको २ खेलमा २ अंक भएको छ। गण्डकीले सोमबार दोस्रो खेलमा बागमती प्रदेशको सामना गर्नेछ।