
बर्दघाट। मेची-महाकाली राष्ट्रिय उद्धार यात्राकाे बाह्राैँ दिन शुक्रबार १३ जना सडक आश्रित मानवहरुकाे उद्धार गरिएकाे छ ।
मेची-महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत शुक्रबार रुपन्देही बुटवल उपमहानगरपालिका -९ बाट ५ जना, देवदह नगरपालिकाबाट-७ बाट ४ जना र नवलपरासी पश्चिम सुनवल नगरपालिका-३ बाट २ जना, प्रतापपुर गाउँपालिका-२ बाट २ जना गरि १३ जना सडकआश्रित मानवहरुकाे उद्धार भएकाे मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए ।
उद्धार हुनुभएका १२ जना पुरुष र १ जना महिलालाई आजै मानवसेवा आश्रम रुपन्देहीकाे तिलाेत्तमा सेवाकेन्द्रमा गृह प्रवेश गराइएकाे छ । राष्ट्रिय उद्धार टाेली शुक्रबार रुपन्देही र नवलपरासी पश्चिमका विभिन्न स्थानीय पालिकाका सडकपेटीमा अलपत्र अवस्थामा रहेका मानवहरुकाे उद्धार तथा सेवामा दिनभर खटिएकाे हाे ।
राष्ट्रिय उद्धार टाेली शनिबार कपिलवस्तु, ताैलिहवा, कृष्णनगर क्षेत्रका विभिन्न सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहेका मानवहरुकाे उद्धार तथा सेवामा रहने कार्यक्रम तय भएकाे छ ।
उद्धार यात्राकाे १२ औँ दिनसम्मकाे अवधिमा १२० जना सहयाेगापेक्षी मानवहरुकाे उद्धार गरिएकाे छ । उद्धार गरिएका २९ महिला र ९१ जना पुरुषकाे सङ्ख्या मध्ये २ जना बालिका र १ जना बालक पनि रहेका छन् ।
३२ दिनसम्म सञ्चालन हुने उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्माज्यू र मानवसेवा आश्रमका संस्थापक/ केन्द्रीय अध्यक्ष रामजी अधिकारीसहित ४७ जना यात्रीहरूकाे सहभागिता रहेकाे छ ।