काठमाडौं । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलमा अमेरिकामा रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र एसियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष यिगमिन यागसँग भेटवार्ता भएको छ ।
भेटका अवसरमा उनीहरुबीच एसियाली विकास बैंकको वर्तमान पूँजी तथा भविष्यमा नेपालसँग हुनसक्ने सहकार्यबारे छलफल भएको नेपाली राजदूतावासले जनाएको छ ।
उपप्रधानमन्त्री पौडेलले नेपालको विकास निर्मााणका परियोजनामा बैंकले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए ।
हालैको बाढीपहिरोबाट प्रभावित नेपाललाई बैंकले ३० लाख अमेरिकी डलर अनुदान प्रदान गरेकोमा उनले आभार व्यक्त गरे । उपाध्यक्ष यागले नयाँ साझेदारी रणनीतिको संरचनागत प्रक्रिया बारेमा मन्त्री पौडेललाई जानकारी दिभएको राजदूतावासले जनाएको छ ।
यसैगरी, उपप्रधानमन्त्री पौडेलले विश्व बैंकका कार्यकारी निर्देशक विम्पी सपुत्रासँग पनि भेटवार्ता गरेका छन् । निर्देशक सपुत्राले नेपालको विकास प्रयासमा बैंकको सहभागिता अभिवृद्धि गरिने आश्वासन दिए ।
उपप्रधानमन्त्री पौडेलले आजै अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष रिकार्डो पुलिटीसँग पनि भेटवार्ता गरेका छन् ।