
८ भदौ, वीरगञ्ज । पर्सामा बाघको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ । जिल्लाको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक जना वृद्धको ज्यान गएको हो ।
गाँउपालिकाको वडा नम्बर ५ शंकरसरैया सखुवनिया बस्ने ६० बर्षका तुलसी राउत थारुको मृत्यु भएको हो । प्रहरीका अनुसार घाँस काट्न गएको समयमा उनलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
गाँउनजिकैको जंगलमा शुक्रबार अपरान्ह घाँस काट्न गएको समयमा राउतलाई बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले जनाएको छ ।
पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहनजङ्ग बुढाथापाका अनुसार थारु हराएको भनी उनका परिवारजनले प्रहरीमा खबर गरेका थिए । त्यसपश्चात खोजी गर्दै जाँदा आज बिहान नजिकैको जंगलमा उनी मृत फेला परेको प्रहरी निरिक्षक बुढाथापाले बताए ।
बाघको आक्रमणबाट थारुको एउटा हात र एउटा खुट्टा नभएको अवस्थामा शव फेला पारेको प्रहरी बताउँछ । घटनास्थलको मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि बीरगन्जको नारायणी अस्पतालमा ल्याइएको इलाका प्रहरीको कार्यालयले जानकारी दिएको छ ।