ट्रेन्डिङ

सडकबाट चार दिनमा ४० जनाको उद्दार, जहाँ भेटिइन्– ७ महिने गर्भवती महिला पनि (तस्विरसहित)

–अधिकांश मानसिक रोगी

वीरगन्ज । मानव सेवा आश्रमले मधेस प्रदेशबाट चार दिनमा बेवारिसे ४० जना सडक मानवको उद्दार गरेको छ ।

मेची–महाकाली राष्ट्रिय उद्दार महाअभियानको ४ दिनको अवधिसम्म आश्रमले प्रदेशभरबाट ४० जना सडक आश्रित मानवको उद्दार गरेको हो ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल नारासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा महाअभियान सुरु गरिएको हो । महाअभियान अन्र्तगत कात्तिक १ गतेदेखि ५ गते अर्थात् सोमबारसम्ममा प्रदेशका जिल्लाहरुबाट ४० जना सडक मानवको उद्दार गरिएको मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जनाए ।

 

उनका अनुसार २९ जना पुरुष र ११ जना महिला गरी कुल ४० जनाको उद्दार गरिएको हो । यसमा बारा बाहेकका जिल्लाहरुबाट सबैको उद्दार गरिएको बताइन्छ ।

कुन जिल्लाबाट कति ?

प्रदेशका जिल्लाहरुमध्ये सबैभन्दा बढी सडक मानवको उद्दार सप्तरीबाट गरिएको मानव सेवा आश्रमले जनाएको छ, यहाँबाट १३ जनाको उद्दार गरिएको विवरण छ ।

त्यसपछिको सूचिमा प्रदेश राजधानी अर्थात् धनुषा जिल्ला परेको छ । अर्थात् यहाँबाट ८ जनाको उद्दार गरिएको छ भने सिरहाका विभिन्न स्थानबाट ८ जनाको उद्दार गरिएको तथ्यांक छ ।

त्यस्तै रौतहट ४, पर्सा र सर्लाही क्रमशः ३÷३ जना र महोत्तरीबाट १ जना सडक मानवको उद्दार भएको आश्रम शाखाले जनाएको छ ।

उद्दार गरिएकाहरुमध्ये एक जना ७ महिने गर्भवती महिलासमेत रहेकी छन् । यस्तै भारतीय नागरिक, अशक्त, अपाङ्ग, आफ्नो पहिचान खुलाउन नसक्ने तथा मानसिक रोगीहरुको समेत उद्दार गरीएको अध्यक्ष अधिकारीले बताए ।

उद्दार गरिएकाहरुलाई मानव सेवा आश्रमको वीरगन्ज, विराटनगर, हेटौँडा तथा सर्लाही शाखाहरुमा स्थानान्तरण गरिएको उनको भनाइ छ । उनीहरुलाई सरसफाइ तथा औषधी उपचार गरी आश्रमका शाखाहरुमा लगिएको हो ।

मानवसेवा आश्रमले सातै प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवाकेन्द्र विस्तार गर्दै सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्दार, उपचार, संरक्षण तथा सुन्दर पारिवारिक पुनर्मिलन गराउदै विगत १२ वर्षदेखि मानवीयता प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

यो पटकको मेची–महाकाली राष्ट्रिय उद्दार यात्राले २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र निर्माण गर्न लिएको संकल्पलाई सघाउने विश्वास लिएको छ ।

मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनले अघि सारेको मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज २६ गते प्रधानमन्त्री निवास बालुवाटारबाट शुभारम्भ गरेका थिए ।

उद्धारकार्यको थालनी भने यही असोज २८ गतेदेखि कोशी प्रदेशको मेचीपुलबाट गरिएको थियो । कोशी प्रदेशबाट आश्रमले ४४ जनाको उद्दार गरेको जानकारी दिएको छ ।

उद्दार यात्रामा गायिका एवम् समाजसेवी आनी छोइङ डोल्मा र मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीसहित ४७ जना यात्रीहरूको सहभागीता रहेको छ ।

महाअभियान यात्राले मंगलबार अर्थात् आजदेखि बागमती यात्रा सुरु गरेको छ । आज कुनै पनि सडक आश्रित मानवको उद्दार नभएको मानव सेवा आश्रमले जनाएको छ ।

अभियान यही कात्तिक २८ गते काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा समापन गरिने बताइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै