
जनकपुरधाम । नेपाल पिक्चर लाइब्रेरीको “सार्वजनिक जीवनमा महिलाः महिलावादी स्मृतिको एक पहल” प्रदर्शनीको पहिलो चरणमा जनकपुरधाममा तीन दिवसीय हुने भएको छ ।
जनकपुरधाममा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपाल पिक्चर लाइब्रेरीका प्रतिनिधि विराज महर्जनले यही कार्तिक ८ गतेदेखि १० गतेसम्म जनकपुरधामस्थित तिरहुतिया गाछीमा विहान १० बजेदेखि साँझ ५ बजेसम्म विभिन्न पिक्चरहरुको व्यवस्थितरुपमा प्रदर्शन गरिने जानकारी दिए ।
सोे परियोजना २०७५ सालमा नेपाल पिक्चर लाइब्रेरीको दस्तावेज र अभिलेख सृजनाको पहलबाट सुरु भएको हो र २०८० सालमा पुस्तकको रूपमा पनि प्रकाशित भएको थियो । सो प्रदर्शनीले अहिले सम्म काठमाण्डौ (नेपाल), नयाँ दिल्ली (भारत), कोची (भारत), इस्तानबुल (टर्की), सिंगापुर, र ब्रेडा (नेदरल्याण्ड) लगायतका विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय स्थानहरूमा यात्रा गरिसकेको उनले बताए ।
सो परियोजनाको मुख्य उद्देश्य दृश्य अभिलेख, मौखिक इतिहास, र सामुदायिक संलग्नता मार्फत नेपालको महिलावादी इतिहासलाई संरक्षण र प्रसार गर्नु रहेको भन्दै आयोजक महर्जनले सो प्रदर्शनीले नेपालका महिलाहरूको सार्वजनिक जीवनमा रहेको योगदानलाई उजागर गर्दै नेपाली समाजमा उनीहरूको ऐतिहासिक महत्वलाई स्थापित गर्नु रहेको उनले बताए ।
यो देशव्यापी यात्रा विभिन्न सात क्षेत्रमा हुने प्रदर्शनी लूपहरूमा आधारित हुनेछ, जसले ग्रामीण र शहरी क्षेत्रहरूमा महिला इतिहासको अभिलेखलाई पहुँचयोग्य र सान्दर्भिक बनाउँदै ऐक्यबद्धता निर्माण गर्न, र महिलाहरूको योगदानलाई संकलन र सम्झना गर्न साझा मञ्च प्रदान गर्नेछ ।
पहिलो चरण अन्तर्गतको पिक्चर प्रदर्शनीको कार्यक्रम वीरगञ्जमा सम्पन्न भइसकेको छ भने कार्तिक ८, ९ र १० गतेसम्म जनकपुरधाममा हुनेछ ।
त्यस्तै दोस्रो चरणमा बर्दिया, नेपालगंज, तेस्रो चरणमा पोखरा, बागलुङ, पाल्पा, चौथो चरणमा दाङ, रोल्पा, पाँचौं चरणमा इलाम, झापा, छैटौं चरणमा विराटनगर, धरान, भोजपुर र सातौं चरणमा बुटवल, भरतपुर, हेटौंडामा हुने छ ।