ट्रेन्डिङ

मधेश सरकार परिवर्तन हुन्छ भन्ने विषय भ्रम मात्र हो : जनमत पार्टी राष्ट्रिय उपाध्यक्ष कुशवाहा

धनुषा । जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष  इन्जिनियर वसन्त कुशवाहाले मधेश प्रदेश सरकार परिवर्तन हुने विषय भ्रामक मात्र भएको बताएका छन् ।

उनले मधेश प्रदेशमा सत्ता परिवर्तन हुने गलत, भ्रामक र मनगढन्त हल्ला फिजाएर सरकारका महत्त्वपूर्ण तथा महत्वाकांक्षी योजना कार्यान्वयनमा बाधा पुर्याउन खोजिएको आरोप लगाएका छन् ।

केही अनलाइन सञ्चारमाध्यमले प्रदेशमा सरकार परिवर्तनको हल्ला फिजाएर कर्मचारी र मधेशी जनतामा भ्रम सिर्जना गर्न खोजिएको भन्दै उनले यस्ता भ्रमले  प्रदेश सरकारले अघि सारेको ७५ भन्दा बढी गौरवका योजना कार्यान्वयनमा बाधा पैदा गर्ने बताए । तसर्थ यस्ता भ्रम पैदा नगर्न उनले अनुरोध गरेका छन् ।

उनी भन्छन्, ‘काम ढिला होस् भन्ने नियतले मधेशविरोधीले सरकार परिवर्तनको हल्ला गर्दैछन् । अहिले गौरवका योजना कार्यान्वयनका लागि आवश्यक गृहकार्य पुरा भइसकेको छ । कामका लागि परिपत्रसमेत भइसकेको छ । यस्तोमा अनर्गल हल्लाबाट तिनीहरूले काममा ढिलाइ होस् भन्ने नियत राखेको देखिन्छ ।’

जनमत पार्टी केन्द्रीय सत्ता गठबन्धनमा नै रहेको र गठबन्धनको निर्णयअनुसार मधेश प्रदेशमा जनमत नेतृत्वको सरकार निरन्तर रहने उपाध्यक्ष इन्जिनियर कुशवाहाको भनाइ छ ।

‘हामी गठबन्धनको साथमा छौ । गठबन्धनभित्रका दलभित्र समन्वय र सहकार्य निरन्तर भइरहेको छ । त्यसैले पार्टीको कुनै पनि नीतिगत निर्णयका कारण प्रदेश सरकारको संरचना प्रभावित हुँदैन,’ उनले भने ।

उपाध्यक्ष कुशवाहाले गलत सन्देश प्रवाहित हुने खालका पुराना तस्बिर राखेर विपक्षीहरूले गरिरहेको हल्लाबाट प्रभावित नहुन सञ्चारमाध्यमहरूलाई आग्रहसमेत गरे ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै