
वीरगन्ज । नगरपालिकाका बेथिति र अनियमितता अन्त्य गर्न माग गर्दै पोखरीयाका नगरप्रमुख प्रदुमन चौहानलाई ज्ञापनपत्र बुझाइएको छ ।
राष्ट्रिय मुक्ति क्रान्ति नेपालका नेता नेजामुदिन समान नेतृत्वको टोलीले नगरप्रमुख चौहानलाई ज्ञापनपत्र बुझाएको हो ।
टोलीले विभिन्न तीन बूँदे माग राख्दै नगरप्रमुख चौहानको ध्यानाकर्षण गराएका हुन् । ज्ञापनमा नगरपालिकाले बढाएको सम्पति कर खारेज गर्नुपर्ने, नगरपालिकाका कर्मचारीलाई समयमै तलब दिनुपर्ने र नगरपालिका कार्यालयमा जनप्रतिनिधी र कर्मचारीको मिलोमतोमा भइरहेको आर्थिक अनियमितता बन्द गर्नुपर्ने माग गरिएको छ ।
नगरपालिकाले अनावश्यक रुपमा सम्पति कर बढाएर जनतालाई दुख दिएको, अस्पतालमा स्वास्थ्य बिमाको औषधि वितरण नगरिएको, जनप्रतिनिधीहरुले नगरपालिकालाई कर्मचारी भर्ती केन्द्र बनाएको, ठेकेदारलाई समयमा भुक्तानी नदिएको जस्ता चरम बेथितीहरु बढेपछि बाध्य भएर ज्ञापनपत्र बुझाइएको समानीले बताए ।