ट्रेन्डिङ

खेतमा सुकाइएका धान पानीले डुबाउँदा किसान चिन्तित

रौतहट । खेतमा सुकाएको धान पानीले डुबाउँदा रौतहटका किसान चिन्तित बनेका छन् । काटेर खेतमै सुकाएको धान शनिबार राति परेको पानीले डुबाएपछि रौतहटका किसान चिन्तित बनेका हुन् ।

दसैँ सकिएलगत्तै उत्साहसहित धान भित्राउन जुटेका धान पानीले डुबाउँदा किसान दुखी बनेका छन् । गुजरा नगरपालिका वडा नम्बर ४ का जीवन साहले समेत धान काटेर झार्नका निम्ति थ्रेसरको पालो कुर्दाकुर्र्दै एक्कासि पूरै धान डुबेको भन्दै दुखेसो पोखे ।

डुबानमा परेको धानको न त भात मिठो हुने न त राम्रो दाममै बिक्री हुने भन्दै उनले खेतमै धान उमार्दा समेत अब चामल किनेर खानुपर्ने अवस्था आएको जनाए ।

यस्तै चन्द्रपुर नगरपालिका वडा नम्बर ६ का किसान रमेश कोइरीले आफ्नो १० कट्ठामा लगाएको धान खेतमै डुबेको गुनासो गरे । उनले भने, ‘भकारीमा राख्नुपर्ने धान खेतमै डुबेपछि पाँजामै उम्रने वा कुहिने भयो । झन्डै कट्ठाको साढे चार मन हुने गरी फलेको धान डुबानमा परेपछि के गर्नु कसो गर्नुभएको छ । चिन्ताले मर्न लागिसके ।’

जिल्ला कृषि ज्ञान केन्द्र रौतहटका निमित्त कार्यालय प्रमुख सुरेन्द्रप्रसाद कुर्मीका अनुसार एक रातको बेमौसमी झरीले जिल्लाका अधिकांश क्षेत्रमा पाक्न लागेको र पाकेर काटेको धानमा निकै क्षति पुगेको छ । जिल्लामा ३८ हजार सात सय हेक्टर जमिनमा धान खेती हुँदै आएको छ ।

असोज दोस्रो साताको बाढी र शनिबारको बेमौसमी झरीले धान खेत डुबानमा पर्दा उत्पादनमा ठुलो ह्रास आउने उनको भनाइ छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै