वीरगन्ज । वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले झण्डै १३ अर्ब रुपैँया राजश्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा १२ अर्ब ७५ करोड रुपैयाँ राजश्व संकलन गरेको हो ।
कार्यालयले १४ अर्ब ८१ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य पाएको थियो । जसमध्ये लक्ष्यको ८६ दशमलव १४ प्रतिशत मात्र संकलन भएको हो ।
चालु आर्थिक वर्षको पहिलो २ महिना अर्थात् साउन र भदौको तुलनामा असोज महिनामा उत्साहजनक रुपमा राजश्व संकलन भएको प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवाल बताउँछन् । उनका अनुसार दसैँ, तिहार र छठ पर्व जस्ता मुख्य पर्वका कारण मदिराको आयात बढेपछि त्यसले राजश्व असूलीमा सकारात्मक भूमिका खेलेको हो ।
कार्यालयका अनुसार असोज महिनामा मात्र ४ अर्ब ३६ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।
जुन मासिक लक्ष्यको ९० दशमलव ३१ प्रतिशत हो । यो महिनामा ४ अर्ब ८३ करोड रुपैयाँ राजश्व असूलीको कार्यालयले पाएको थियो ।
असोज महिनामा आयातकर्ताले बढी मात्रामा मदिरा आयात गरेको उनी बताउँछन् ।
तेश्रो मुलुकबाट मदिरा आयात हुँदा एक कन्टेनर मदिराबाट मात्र न्युनतम २ करोड ५० लाख रुपैयाँ बढी राजश्व संकलन हुने गर्छ ।
राजश्वमा योगदानको दृष्टिले यो भन्सारमा फलामजन्य बस्तु पछि दोश्रो नम्बरमा मदिरानै पर्ने गर्छ । आर्थिक मन्दी र आयात निर्यात व्यापार घटेको अवस्थामा पनि त्रैमासिक अवधिमा ८६ प्रतिशत बढी राजश्व संकलन हुनु उत्साहजनकनै रहेको बरुवाल बताउँछन् ।
अझै पनि तिहार र छठ जस्ता पर्व बाँकीनै रहेकाले यी पर्व लक्षित मालबस्तु आयात हुने सम्भावना बाँकी रहेको र कात्तिक महिनाको राजश्व असूली पनि उत्साहजनकनै रहने सम्भावना रहेको उनले बताए ।