महोत्तरी । महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालका चिकित्सक तथा कर्मचारीहरु आन्दोलित भएका छन् । अस्पतालका कर्मचारीहरु नै आन्दोलित बन्दा सेवाग्राही मर्कामा परेका छन् ।
बिहीबार अस्पताल प्रशासनले अस्पतालमा कार्यरत करारका कर्मचारीलाई म्याद थप नभएकाले कामकाज नगर्ने सूचना प्रकाशन गरेपछि करारका चिकित्सक तथा कर्मचारीहरुले शुक्रबार कामकाज ठप्प पारेका छन् ।
एकातर्फ प्रादेशिक अस्पताल जलेश्वरमा कार्यरत रहेका १५ जना छात्रवृत्ति करारका चिकित्सक तथा कर्मचारीहरुले साउन महिनादेखि तलब नपाएको भन्दै हडतालको तयारीमा थिए भने अर्कोतर्फ करारका कर्मचारीको म्याद नथपिएपछि अस्पतालको कामकाज ठप्प भएको हो ।
अस्पतालको ओपिडीमा आएका बिरामीहरुलाई चिकित्सकले परीक्षण नगरेपछि बिरामी आक्रोशित भएका छन् भने असजिलो महसुस गरेका बिरामीहरुले इमर्जेन्सीमा परीक्षण गरेका थिए ।
चिकित्सकहरु ओपिडीमा नबस्दा बच्चा लिएर आएका हाडसम्बन्धी, गाइनोसम्बन्धी चेकजाँचका लागि आएका बिरामीहरु निराश देखिएका थिए ।
अस्थायी करारका चिकित्सक डा.कृष्णा पंजियारले एकातर्फ साउन महिनादेखि आफुहरुले नियुक्ति तथा तलब नपाएको गुनासो गरे । साथै अस्पताल प्रशासनले कामकाजका लागि म्याद थप्न नसकिने गरी सूचना प्रकाशन गरेपछि आफूहरु अन्योलमा रहेको उनले बताए ।
उनले ओपिडीमा चेकजाँच नभए पनि इमर्जेन्सी सञ्चालनमा कुनै बाधा नरहेको जिकिर गरे ।
यता अस्पतालमा कार्यरत करारका चिकित्सक र कर्मचारीहरुको शुक्रबार बसेको बैठकबाट यस विषयमा थप स्पष्टता माग गरिएको तथा तीन दिनभित्र स्पष्ट जानकारी प्राप्त नभए बैठक बसेर थप आन्दोलन गर्ने चेतावनी करारका चिकित्सक र कर्मचारीहरुले दिएका छन् ।