
वीरगन्ज । विवादका कारण १९ दिनदेखि डुबानमा परेको वीरगन्ज बहुअरीको पानीको निकासको कार्य सुरु भएको छ ।
महानगर प्रमुख राजेशमान सिंहको पहलमा सुगौली विर्तास्थित हरपतगञ्ज बहुअरीको पानी निकासको कार्य सुरु भएको हो ।
त्यस क्षेत्रको पानी निकासका लागि पहिलेदेखि नै रहेको बन्द ह्युमपाइप खुलाउने र पुरिएर रहेको पहिलेको नहर पुनः चालु गराउने निष्कर्ष सहित महानगरपालिकाले बिहीबार दिउँसोबाट तीन वटा जेसीबी पठाएर पानी निकासको काम सुरु गरेको हो ।
२ दिन भित्रमा सबै पानी निकास भइसक्ने गरी बन्द रहेको ह्युमपाइप र नहर खोल्न जेसिबीले खन्ने काम गरिरहेको महानगर प्रमुख सिंहले बताए ।
दुई दिनसम्म परेको अविरल वर्षाका कारण वीरगंज महानगरपालिकाको वडा नं. २०, २४ र २६ को अधिकांस क्षेत्र डुबानमा परेको थियो ।
तीनवटै वडाको पानीको निकास वडा नम्बर १७ अलौँस्थित आईसीपी चोकबाट हुने गरेको थियो । पहिलेदेखि बर्षाको पानी सो स्थानमा राखिएका दुईवटा ह्युमपाइपबाट निकास हुँदै आएकामा यसपटक ह्युमपाइप जाम भएकाले सुगौलीविर्ता, हरपतगन्ज र बहुअरी डुबानमा परेका थिए ।
गत असोज ११ र १२ मा परेको वर्षाको पानी १९ दिनसम्म निकास नपाउँदा त्यहाँ लगाइएको ५० औँ विघाभन्दा बढी धानबाली नष्ट हुने अवस्थामा पुगेको थियो ।
लामो समयदेखि पानी जम्दा उक्त वडामा दुर्गन्ध फैलिनुका साथै लामखुट्टेको बिगबिगी बढेको छ । केही दिन यही अवस्था कायम रहे डेंगु, इन्सेफ्लाइटिस तथा पानीजन्य रोगको संक्रमण बढ्न सक्ने स्वास्थ्यकर्मीले चेतावनी दिएका छन् ।
विगतमा नहरको क्यानल र दुईवटा ह्युमपाइपबाट खेतको पानीलाई निकास दिने गरेकामा अहिले क्यानल पुरेर पक्की सडक निर्माण गर्नुका साथै र ह्युमपाइप जाम भएकाले वीरगन्ज वडा नम्बर २६ सुगौलीविर्ता, वडा २० हरपतगन्ज र वडा २४ बहुअरीको पानीले निकास पाउन सकेको थिएन ।
गत असोज १८ मा जेसीबीद्वारा ह्युमपाइपको जाम हटाएर पानीको निकास गराइएको थियो । तर, साझ वडा नं. १७ स्थित अलौँवासीले अर्काे वडाबाट आएको पानीले आफ्नो घर र खेत डुबानमा पारेको भन्दै ह्युमपाइप पुरिदिँदै पानी निकास ठप्प पारेका थिए । नगर प्रहरीको सहयोगमा वडा सदस्य आमोद यादव लगायतको टोलीले पुनः ह्युमपाइपको जाम खोल्न खोज्दा विवाद भएको थियो । अलौँ निवासी सुदर्शन लामिछानेले वडा सदस्य यादवलाई दुव्र्यहार गरेपछि कुटाकुटसमेत भएको थियो ।
तीन वटै वडाका स्थानीयको गुनासो आएपछि गत असोज २१ मा महानगर प्रमुख राजेशमान सिंह महानगरको प्राविधिक र नगर प्रहरी सहितको टोली लिएर निरीक्षणमा जाँदा समेत विवाद भएको थियो ।
बिहीबार बिहान महानगर प्रमुख सिंह सहित पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कुमोध ढुंगेल, सशस्त्र प्रहरीका प्रमुख राधेश्याम धिताल लगायतको टोलीले पानी निकासका लागि स्थलगत अनुगमन गरेको थियो ।