वीरगन्ज । दुई दिनसम्म परेको अविरल वर्षाले वीरगन्ज महानगरपालिकाका ३ वडाका करिब ५० बिघा धान खेत डुबानमा परेको छ ।
गत असोज ११ र १२ मा परेको वर्षाले १९ दिनसम्म निकास नपाउँदा धानबाली नष्ट हुने अवस्थामा पुगेको हो । लामो समयदेखि पानी जम्दा उक्त वडामा दुर्गन्धसमेत फैलिएको छ । लामखुट्टेको बिगबिगी बढेको छ । केही दिन यही अवस्था कायम रहे डेंगी र इन्सेफ्लाइटिस रोगको संक्रमण बढ्न सक्ने स्वास्थ्यकर्मीले चेतावनी दिएका छन् ।
विगतमा नहरको क्यानल र दुईवटा ह्युमपाइपबाट खेतको पानीलाई निकास दिने गरेकामा अहिले क्यानल पुरेर पक्की सडक निर्माण र ह्युमपाइप जाम भएकाले वीरगन्ज वडा नम्बर २६ सुगौलीविर्ता, वडा २० हरपतगन्ज र वडा २४ बहुअरीको पानीले निकास नपाएको हो ।
तीनवटै वडाको पानीको निकास वडा नम्बर १७ अलौँस्थित आईसीपीचोकबाट हुने गरेको थियो । पहिलेदेखि बर्खाको पानी सो स्थानमा राखिएका दुईवटा ह्युमपाइपबाट निकास हुँदै आएकामा यसपटक ह्युमपाइप जाम भएकाले सुगौलीविर्ता हरपतगन्ज र बहुअरी अहिलेसम्म डुबानमुक्त हुन सकेको छैन ।
असोज १८ मा जेसीबीद्वारा ह्युमपाइपको जाम हटाएर पानीको निकास गराइएको थियो । तर, साझ अलौँवासीले अर्को वडाबाट आएको पानीले आफ्नो घर र खेत डुबानमा पर्ने भन्दै ह्युमपाइप पुरिदिएका थिए । नगर प्रहरीको सहयोगमा वडा सदस्य आमोद यादवलगायतको टोलीले पुनः ह्युमपाइपको जाम खोल्न खोज्दा विवाद भएको थियो ।
अलौँ निवासी सुदर्शन लामिछानेले वडा सदस्य यादवलाई दुर्व्यहार गरेपछि कुटाकुटसमेत भएको थियो । तीन वडाका स्थानीयको गुनासो आएपछि गत असोज २१ मा मेयर राजेशमान सिंह महानगरको प्राविधिक र नगर प्रहरी सहितको टोली लिएर निरीक्षणमा जाँदा समेत विवाद भएको थियो ।
‘डुबानमा परेको धान खेतको पानी कसरी निकास दिन सकिन्छ भनेर प्राविधिकसहितको टोली लिएर जाँदा ममाथि दुर्व्यहार भयो,’ मेयर सिंहले भने, ‘त्यही दिन निकास खोल्ने योजना भएको भए महानगरको डोजर लिएर गइन्थ्यो, निरीक्षण गर्दा दुर्व्यवहार भयो ।’
उनका अनुसार निरीक्षणका क्रममा अलौँ निवासी शिवओम लामिछानेले दुर्व्यहार गरेका थिए । लामिछानेले मेयरले दुर्व्यहार गरेको आरोप लगाएका छन् ।
विवाद बढेपछि लामिछानेका छोरा सुदर्शन लामिछानेको टाउकोमा चोट लागेको थियो । मेयरले दुर्व्यवहार गरेको भन्दै कांग्रेस नेता समेत रहेका लामिछानेका समर्थक धर्नामा बसेका थिए । मेयरले माफी मागेपछि धर्ना स्थगित भएको थियो ।
बहुअरी निवासी मनिस द्विवेदीका अनुसार १९ दिन बित्दा पनि खेतको पानीले निकास पाएको छैन । कतिपय स्थानीयको घरमा पसेको पानी सुकिसकेको छैन । पानी जमेर गाईबस्तु राख्ने ठाउँसमेत छैन । गाईबस्तुले खाने परालसमेत भिजेको उनले जनाए ।
‘वडा नम्बर २४ को पानी २४ मै रहोस्, हाम्रो वडामा नआओस्, यस्तो कुरा गरेर समस्या समाधान कसरी हुन्छ ?,’ उनले भने, ‘पानीले निकास नपाउँदा हुने क्षतिको भर्पाइ कसले दिन्छ ?’
डुबानलाई व्यक्तिगत झगडातर्फ मोडेर निकासको समस्यालाई ओझेलमा पार्ने काम भएको उनको आरोप छ । यसअघि निकास हुने ह्युमपाइप निकालेर रातारात बाटो पिच गरिएको उनले खुलाए । नहर क्यानल पुरेर घरसमेत निर्माण गरिएको द्विवेदीको आरोप छ ।
पानीको निकासका लागि बिहीबार बिहान प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, मेयर सिंह र सुरक्षाकर्मी लगायतको टोलीले निरीक्षण गरेको छ । प्रजिअ भुसालले पानी तत्काल निकासका लागि निर्देशन दिएको बताए ।
‘पानी निकासका लागि आजै तीनवटा डोजर प्रयोग गरिनेछ,’ उनले भने, ‘प्राविधिकले दिएको निर्देशनमा जहाँ जहाँबाट खोलेर डुबानको पानी तिलावे खोलामा जान्छ, त्यहाँ वडाध्यक्षहरू मिलेर निकास दिनेछन्, प्रशासनले सुरक्षा व्यवस्था उपलब्ध गराउँछ ।’
लामो समयदेखि जमेको पानीका कारण डेंगी र इन्सेफ्लाइटिस फैलिने सम्भावना रहेको प्रजिअले बताए । ‘१÷२ जनाको असहमतिमा समुदायलाई नै असर गर्ने काम त गर्नु भएन नि,’ उनले भने । कान्तिपुर