
१ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा राजस्व संकलन निराशाजनक देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार असोज मसान्तसम्म २ खर्ब ४८ अर्ब २६ करोड रुपैयाँ मात्र राजस्व उठेको छ । यो लक्ष्यको १७।४९ प्रतिशत हो । यस वर्ष सरकारले १४ खर्ब १९ अर्ब रुपैयाँ बराबर राजस्व संकलनको लक्ष्य राखेको छ ।
अघिल्लो आर्थिक वर्ष २०८०।८१ को तुलनामा केही सुधार भए पनि लक्ष्यभन्दा भने पछाडि रहेको छ । गत वर्ष असोजसम्म २ खर्ब १९ अर्ब रुपैयाँ राजस्व उठेको थियो । महालेखा नियन्त्रक कार्यालयका अनुसार कर राजस्व २ खर्ब १९ अर्ब र गैरकर राजस्व २८ अर्ब ५७ लाख रुपैयाँ उठेको छ । यसबीचमा अनुदानबाट सरकारले कुनै आम्दानी गर्न सकेको छैन । अन्य आम्दानी ४ अर्ब ७५ लाख रुपैयाँ हुँदा सरकारले असोज मसान्तसम्म २ खर्ब ५३ अर्ब रुपैयाँ मात्र आम्दानी गर्न सकेको छ ।
यसबीचमा सरकारको खर्च भने ३ खर्ब २९ अर्ब रुपैयाँ नाघेको छ । सोहीकारण सरकारको आम्दानीको तुलनामा खर्च ७६ अर्ब रुपैयाँले माथि छ । यसबीचमा चाडबाडका लागि सरकारले बोनससहितको सेवा सुविधा प्रदान गर्छ र यसले चालु खर्च ह्वात्तै बढाएको हो । कार्यालयले असोज मसान्तसम्म ३ खर्ब २९ अर्ब रुपैयाँ बजेट खर्च भएको छ । यो वार्षिक लक्ष्यको १७.७ प्रतिशत प्रगति हो । यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।
यसबीचमा चालु खर्च २ खर्ब २९ अर्ब भएको छ । यो लक्ष्यको २०।१५ प्रतिशत हो । यस वर्ष ११ खर्ब ४० अर्ब रुपैयाँ चालु खर्च हुने अनुमान रहेको छ ।
पूँजीगत खर्च भने २९ अर्ब ३७ करोड रुपैयाँ बराबर भएको छ । यो लक्ष्यको ८।३४ प्रतिशत हो । कार्यालयका अनुसार यस वर्ष ३ खर्ब ५२ अर्ब रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य रहेको छ । वित्तीय व्यवस्थामा भने सरकारकाले तीन महिनामै ६९ अर्ब ९७ करोड खर्च गरिसकेको छ ।
यसको ठूलो हिस्सा आन्तरिक ऋणको साँवा तिर्न खर्च हुने गरेको छ । वित्तीय व्यवस्थाको प्रगति लक्ष्यको १९।०५ प्रतिशत हो ।