ट्रेन्डिङ

बाढीपीडितको उपचारमा वीरगन्ज हेल्थ केयरको मानवीय घोषणा

वीरगन्ज । रसुवालगायतका जिल्लामा बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएपछि देश शोक र पीडाको अवस्थामा छ ।

विपद्मा परेकाहरूको उद्धार तथा राहतका लागि राज्यसहित विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ ।

यही मानवीय संकटका बेला वीरगन्जस्थित हेल्थ केयर अस्पतालले बाढी तथा पहिरोबाट प्रभावित घाइतेको उपचारमा सहयोग गर्ने घोषणा गरेको छ ।

अस्पतालका अध्यक्ष अबुलहैस अन्सारीले हवाई उद्धारका क्रममा बाढी–पहिरो प्रभावित कुनै बिरामीलाई वीरगन्ज हेल्थ केयर अस्पतालको हेलिप्याडमा ल्याइएमा त्यस्ता बिरामीको सम्पूर्ण उपचार खर्च अस्पतालले व्यहोर्ने घोषणा गरेका हुन् ।

विपद्को समयमा मानवीय संवेदनशीलतालाई प्राथमिकतामा राख्दै घाइते तथा बिरामीको उपचारमा सहयोग गर्ने उद्देश्यले यस्तो घोषणा गरिएको अध्यक्ष अन्सारीले बताए ।

उनले भने, “देश अहिले ठूलो दुःख र पीडाको घडीमा छ । बाढी–पहिरोबाट प्रभावित नागरिकको उद्धार र उपचारमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बेला हो । हवाई उद्धारका क्रममा कुनै बिरामीलाई हाम्रो अस्पतालको हेलिप्याडमा ल्याइएमा उहाँको सम्पूर्ण उपचार खर्च अस्पतालले व्यहोर्नेछ ।”

अस्पतालको यो घोषणाले विपद्को समयमा उद्धारसँगै घाइतेको तत्काल उपचार व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

रसुवासहित विभिन्न जिल्लामा बाढी तथा पहिरोका कारण ठूलो क्षति भएपछि अहिले उद्धार, राहत र उपचारलाई तीव्रता दिइएको छ ।
यस्तो अवस्थामा निजी क्षेत्रबाट समेत मानवीय सहयोगका घोषणा आउन थालेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै