वीरगन्ज । रसुवा जिल्लामा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश कुमार सिंहले दुःख व्यक्त गरेका छन्।
सिंहले विपद्मा परी ज्यान गुमाएका नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
उनले बाढीपहिरोमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन्।
बाढी तथा पहिरोका कारण थुप्रै परिवार घरबारविहीन भएको र ठूलो धनजनको क्षति भएको भन्दै सिंहले विपद्को यस कठिन घडीमा पीडित परिवारको दुःखमा साथ दिन सबैको कर्तव्य रहेको बताएका छन्।
सिंहले नेपाल सरकार, गृह मन्त्रालय तथा स्थानीय प्रशासनलाई प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत कार्यलाई तीव्रता दिन आग्रह गरेका छन्।
उनले विस्थापित परिवारलाई खाद्यान्न, सुरक्षित बासस्थान तथा आवश्यक चिकित्सा सुविधा तत्काल उपलब्ध गराउन अपिल गरेका छन्।
त्यस्तै, घरबारविहीन बनेका नागरिकलाई उचित क्षतिपूर्ति प्रदान गर्दै सुरक्षित स्थानमा तत्काल पुनर्स्थापनाको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिएका छन्।
बाढीपहिरोका कारण अवरुद्ध भएका सडक, पुल तथा सञ्चार सेवा यथाशीघ्र सञ्चालनमा ल्याएर प्रभावित क्षेत्रमा राहत तथा उद्धार सामग्री पुर्याउने वातावरण बनाउन समेत सिंहले सरकारसँग आग्रह गरेका छन्।
विपद्को समयमा राजनीतिक दल, सामाजिक संघ–संस्था, युवा तथा आम नागरिक एकजुट भएर उद्धार तथा राहत अभियानमा सहयोग गर्नुपर्ने उनको भनाइ छ।
पूर्वमुख्यमन्त्री सिंहले प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई राज्यका सबै निकाय तथा समाजका सबै पक्षले तत्काल सहयोग र संरक्षण प्रदान गर्नुपर्ने बताएका छन्।