वीरगन्ज । सरकारले इस्लाम धर्मावलम्बीहरूको महान पर्व बकर ईद (ईद–उल–अज्हा) का अवसरमा आगामी जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै बकर ईदको अवसरमा देशभर सार्वजनिक बिदा रहने जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा इस्लाम धर्मावलम्बीहरूमा शुभकामना व्यक्त गरिएको छ ।
मन्त्रालयले पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।