जनकपुर । मधेस प्रदेश सरकारको विश्वासको मत प्रक्रिया सारिएको छ ।
मुख्यमन्त्री कृष्ण यादवले जेठ ८ गतेका लागि विश्वासको मत लिने व्यवस्था मिलाइदिन प्रदेशसभा सभामुख रामअषिश यादवलाई पत्र पठाएका छन् ।
वैशाख २१ गते जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने तयारी गरेका थिए ।
तर सत्ता साझेदार जनता समाजवादी पार्टी नेपाल ले समर्थन दिने वा नदिने विषयमा निर्णय गर्न नसकेपछि विश्वासको मतको प्रक्रिया अन्तिम समयमा आएर सारिएको हो ।
जसपा नेपालभित्र सरकारको पक्षमा मतदान गर्ने र विपक्षमा उभिने विषयमा फरक–फरक धारणा देखिएको बताइएको छ ।
केही सांसदले विश्वासको मत दिनुपर्ने पक्षमा मत राखेका छन् भने केहीले सरकारको विपक्षमा उभिनुपर्ने अडान लिएका छन् ।
स्रोतका अनुसार यही विवादका कारण मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यक्रम अगाडि नबढाई सभामुखलाई नयाँ मिति तय गर्न आग्रह गरेका हुन् ।
जसपा नेपालका एक नेताले पार्टी बैठक जारी रहे पनि हालसम्म कुनै निष्कर्ष ननिस्किएको बताए ।
उनका अनुसार कांग्रेसभित्रै केही सांसद ‘फ्लोर क्रस’ को तयारीमा रहेको संकेत पाएपछि पनि सरकार थप सतर्क बनेको हो ।
यसअघि आज बिहान ११ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको थियो ।