सर्लाही । सर्लाहीमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ भने उनका बुवा गम्भीर घाइते भएका छन्।
शुक्रबार साँझ लालबन्दी नगरपालिका–४ हरिवभवन क्षेत्रमा भएको दुर्घटनामा साइकलमा सवार ६ वर्षीया अन्सु भट्टराईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
उनी लालबन्दी नगरपालिका–९ निवासी सन्तोष भट्टराईकी छोरी हुन्।
प्रहरीका अनुसार हरिपुरबाट लालबन्दीतर्फ आउँदै गरेको ना.५ त ३११३ नम्बरको ट्याक्टरले सोही दिशामा अघि बढिरहेको साइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा साइकल चालक सन्तोष भट्टराई गम्भीर घाइते भएका छन्।
घाइते भट्टराईको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जानकारी दिएको छ।
दुर्घटनापछि ट्याक्टर चालक लालबन्दी–१७ निवासी ५० वर्षीय दुर्गामान थोकरलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ ।