ट्रेन्डिङ

अतिक्रमण हटाउन ७७ जिल्लालाई गृह मन्त्रालयको कडा निर्देशन

काठमाडौं । सरकारले देशभर सार्वजनिक जग्गा संरक्षण अभियानलाई तीव्र बनाउँदै अतिक्रमण हटाउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

गृह मन्त्रालयले सचिवस्तरीय निर्णयमार्फत ७७ वटै जिल्लामा सर्कुलर जारी गर्दै अतिक्रमित जग्गाको पहिचान र व्यवस्थापन प्रक्रिया अघि बढाउन भनेको हो।

मन्त्रालयले यसअघि २०८२ चैत २० गते जारी गरेको परिपत्रलाई स्मरण गराउँदै पुनः सक्रियता बढाउन निर्देशन दिएको जनाएको छ।

शाखा अधिकृत कृष्ण देवकोटाद्वारा हस्ताक्षरित पत्रमा जिल्लास्थित सम्बन्धित सरकारी निकायसँग समन्वय गरेर सार्वजनिक जग्गाको तथ्यांक संकलन गर्न र अतिक्रमण हटाउने कार्ययोजना तयार गर्न भनिएको छ।

जिल्ला प्रशासन कार्यालयहरूलाई आफ्नो क्षेत्रभित्र रहेका अतिक्रमित जग्गा फिर्ता ल्याउन ठोस योजना बनाइ मन्त्रालयमा पेश गर्न समेत आग्रह गरिएको छ।

मन्त्रालयले समन्वयात्मक ढंगले काम गर्दै सार्वजनिक सम्पत्तिको संरक्षण र सदुपयोग सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ।

सरकारको यो कदमले देशभर बढ्दै गएको सार्वजनिक जग्गा अतिक्रमण नियन्त्रणमा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै