वीरगन्ज । वीरगन्ज महानगरपालिकाल घरधनीहरुलाई मनोमानी ढंगले भाडा नलिन निर्देशन दिएको छ ।
बिहीबार एक सूचना जारी गर्दै महानगरपालिकाले यस्तो निर्देशन दिएको हो । त्रिभुवन राजपथ विस्तारका क्रममा मुख्य सडकका संरचना भत्काएपछि भित्रीसडकमा रहेका घर तथा संरचनाको भाडा एक्कासी बढेको जनगुनासो बढेको महानगरले उल्लेख गरेको छ ।
उक्त जनगुनासाप्रति महानगरको ध्यानाकर्षण भएको जनाउँदै भवन भत्किएको मौका छोपेर अन्य स्थानमा व्यापार–व्यवसाय गर्दै आएका व्यवसायीसँग अनावश्यक घरभाडा वृद्धि नगर्न महानगरले अनुरोध गरेको हो ।
पछिल्लो समय घरधनीहरुले व्यवसायीमाथि अत्यधिक भाडा बढाउन दबाब दिने, बढी भाडा पाउने लोभमा सम्झोता तोड्न खोज्ने र अनाधिकृत रुपमा धरौटी माग गर्ने लगायतका गुनासो प्राप्त भएको राजश्व व्यवस्थापन महाशाखा प्रमुख मनोज कुमार कर्णले जारी विज्ञप्तिमार्फत भनेका छन् ।
यसकाराण अब घर, कोठा, सटर र गोदाम लगायत बहालमा लेनदेन गर्न दुवै पक्षबिच दबाबविना र यथार्थ भाडा दर कायम गर्नुपर्ने तथा उक्त सम्झौता सम्बन्धित वडा कार्यालयबाट प्रमाणित गराउनुपर्ने विज्ञप्तिमार्फत भनिएको छ । साथै सो सम्झौताको एक प्रति महानगरको राजश्व व्यवस्थापन महाशाखामा अनिवार्य रुपले पेश नगरपालिकाको उर्दी छ ।
आपसी समझदारी बाहेकका गतिविधि गरेर मनपरी भाडा बढाउने, दबाब दिने वा नक्कली सम्झौता पेश गरे जरिवानासहित प्रचलित कानुन बमोजिम कारबाही गरिने महानगरले चेतावनीसमेत दिएको छ ।
गत आइतबार डिभिजन सडक हेटौंडाले गण्डकचोकदेखि मितेरीपुलसम्मको मुख्य सडकमा अतिक्रमण गरेर बनाइएका घरटहरा भत्काएको थियो ।
