वीरगन्ज । सीमा नाकाबाट हुने अवैध घुसपैठ नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय पर्साले अपिल गरेको छ ।
जिल्ला सुरक्षा समितिको बिहीबार बसेको बैठकले सीमावर्ती क्षेत्रबाट हुन सक्ने अवैध घुसपैठ नियन्त्रणका लागि विशेष निगरानी बढाउने निर्णय गरेको प्रशासनले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी (सिडिओ) बिनोद कुमार पोखरेलले विभिन्न उद्देश्य लिएर विदेशी नागरिकहरु अवैध तरिकाले नेपाल प्रवेश गर्ने सम्भावना बढ्दै गएकाले राष्ट्रिय सुरक्षा र अमनचयन थप सुदृढ बनाउन कडाइ गरिएको बताए ।
नाकाबाट भित्रिने विदेशी नागरिकको पासपोर्ट/भिसा जाँच, सम्पर्क नम्बरसहितको पूर्ण विवरण संकलन र अभिलेख नेपाल प्रहरी, सशस्त्र प्रहरी र अध्यागमन कार्यालयले संयुक्त रुपमा चेकपोष्टमै (सीमानाका) गरिने व्यवस्था गरिएको सहायक सिडिओ पोखरेले जानकारी दिए ।
प्रशासनले यो अभियानमा सघाउन सर्वसाधारण, व्यवसायी तथा सीमावर्ती क्षेत्रका बासिन्दासमक्ष ४ बुँदे अपिल पत्र जारी गरेको हो ।
जसअनुसार पहिलो बुँदामा आफ्नो गाउँठाउँमा कुनै बिदेशी यात्रु भएको पहिचान भएमा स्थानीय प्रशासनलाई सूचना दिन अपिल गरिएको छ । त्यस्तै बिदेशी यात्रुको बिवरण संकलन, अवैध रुपमा सीमा पार गर्ने वा गराउने गतिविधि देखिएमा सूचित गराउन प्रशासनले अपिल गरेको छ ।
सीमा सुरक्षा र सुशासनका लागि यस अभियानको थालनी गरिएकाले रचनात्मक समन्वय र सहकार्यका लागि जिल्ला प्रशासन कार्यालयले अपिल गरेको हो ।
