काठमाण्डौँ । खाडी तथा पश्चिम एसियाका १२ देशका लागि श्रम स्वीकृति खुलेको छ ।
इरान युद्धका कारण पश्चिम एसियाली क्षेत्रमा उत्पन्न विषम परिस्थितिका कारण सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सरकारले फागुन १७ गते ती मुलुकहरूमा वैदेशिक रोजगारीमा जान अस्थायी रूपमा रोक लगाएको थियो ।
परिस्थितिमा सुधार आएसँगै श्रमिकहरूको हित र मागलाई ध्यानमा राखी पुनः श्रम स्वीकृति खुला गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार ती देशहरूमा व्यक्तिगत, संस्थागत र वैधानिकीकरणसहितका काम पूर्ववत् अवस्थामा हुनेगरी खुला गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आजको मन्त्रीस्तरीय बैठकले साउदी, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, जोर्डन, लेबनान, यमन, टर्की र इजरायलको श्रम स्वीकृति पुनः सूचारु गर्ने निर्णय गरेको हो ।
इराकको हकमा भने २०८२ पुस ११ गते मन्त्रिपरिषद्बाट भएको निर्णय बमोजिम हुने मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालय अन्तर्गतको उच्चस्तरीय आपत्कालीन प्रतिकार्य कार्यदल (ईआरटी) ले खाडी तथा पश्चिम एसियाली देशमा श्रम स्वीकृति खुला गर्न सिफारिस गरेको थियो ।
परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा बसेको ईआरटीको बैठकले खाडी तथा पश्चिम एसियास्थित सबै श्रम गन्तव्य मुलुकहरू वैदेशिक रोजगारीका लागि खुला गर्न सिफारिस गर्ने निर्णय गरेको हो । सोही आधारमा मन्त्रालयले श्रम स्वीकृति खुला गरेको हो ।
युद्धका कारण खाडी तथा पश्चिम एसियाली देशमा रहेका नेपालीहरूको सुरक्षालाई मध्यनजर गर्दै श्रम मन्त्रालयले गत फागुन १७ गते श्रम स्वीकृति, पुनः श्रम स्वीकृति स्थगन गर्ने निर्णय गरेको थियो ।
