काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन अवधि घटाइएको छ ।
विमानस्थल कार्यालयले नोटाम जारी गर्दै सोमबार (आज) रातिदेखि लागु हुने गरी विमानस्थलको सञ्चालन अवधि घटाएको हो ।
नयाँ तालिका अनुसार आगामी जेठ ४ गते सम्म दैनिक रूपमा राति ११ः४५ बजेदेखि भोलिपल्ट बिहान ६ः३० बजेसम्म बन्द रहनेछ ।
यस अवधिमा विमानस्थलको ग्राउन्ड मुभमेन्ट र सबै प्रकारका उडान तथा अवतरण सेवाहरू पूर्णतः ठप्प रहनेछन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसँग जोडिएका विभिन्न ट्याक्सीवेहरूको मर्मत, सुधार तथा विस्तार कार्यका लागि उडान अवधि कटौती गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।
यो निर्माण कार्यका लागि दैनिक पौने ७ घण्टा समय छुट्याइएको छ, जसका कारण विमानस्थल अब दैनिक १७ घण्टा १५ मिनेट मात्र सञ्चालनमा आउनेछ।
यसअघि विमानस्थल राति १ बजेसम्म सञ्चालन हुँदै आएको थियो ।
