ट्रेन्डिङ

वीरगन्ज अन्धकारमा,प्रहरी हाइ अलर्टमा-एसपी पाठकले भने: रातभर ब्यापक प्रहरी खटाइएको छ, तपाइँहरू ढुक्क भएर बस्नुहोला

वीरगन्ज । मुख्य सडक विस्तार अभियान अन्तर्गत अतिक्रमित संरचना भत्काइएपछि वीरगन्जका अधिकांश भागमा विद्युत सेवा अवरुद्ध भएको छ।

आइतबार बिहानैदेखि डोजर परिचालन गरी घरटहरा हटाउँदा ठाउँ–ठाउँमा विद्युतका तार चुडिएपछि बजार क्षेत्र अन्धकारमा डुबेको हो।

मुख्य सडक र बजार क्षेत्रमा बिजुली नहुँदा सर्वसाधारणलाई ठूलो सास्ती भएको छ।

सहायक सडक र गल्लीहरूमा भने विद्युत सेवा पूर्ण रूपमा नकटिए पनि मुख्य व्यापारिक क्षेत्रमा अन्धकार छाएको छ, जसले दैनिक जनजीवन प्रभावित बनेको छ।

विद्युत अवरुद्ध भएसँगै सुरक्षा चुनौती बढ्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले कडा सतर्कता अपनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सर्वसाधारणको जीउधनको सुरक्षाका लागि रातभर व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ।

पर्सा प्रहरी प्रमुख सुदीपराज पाठकले लुटपाट, चोरी तथा अन्य अपराधिक गतिविधि नियन्त्रणका लागि अतिरिक्त सुरक्षा व्यवस्था गरिएको जानकारी दिए।

उनका अनुसार क्रस पेट्रोलिङ, मोबाइल गस्ती तथा सरप्राइज चेकिङलाई तीव्र बनाइएको छ।

“पहिलाको तुलनामा आज बढी संख्यामा प्रहरी खटाइएको छ, शान्ति सुरक्षामा कुनै कमी हुन दिइने छैन,” उनले भने।

कुनै समस्या परेमा तत्काल प्रहरी कन्ट्रोलमा सम्पर्क गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।

प्रहरीले ढुक्क भएर घरमै बस्न आग्रह गर्दै सुरक्षामा कुनै चुक नहुने विश्वास दिलाएको छ।

डोजर अभियान जारी रहँदा विद्युत सेवा कहिले पूर्णरूपमा पुनः सञ्चालन हुने भन्ने अन्योल कायमै रहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै