वीरगन्ज । वीरगन्जमा आइतबार बिहानैदेखि मुख्य सडक विस्तारका लागि डोजर अभियान सुरु गरिएको छ।
वीरगन्ज स्थित त्रिभुवन राजपथ अन्तर्गत पर्ने मुख्य सडक फराकिलो बनाउने उद्देश्यले मापदण्डभित्र परेका घरटहरा हटाउन डोजर चलाइएको हो।
सडक डिभिजन कार्यालय हेटौडाको समन्वयमा सञ्चालन गरिएको यस अभियानमा सडक विभागका ९ वटा भारी उपकरण (डोजर, जेसीबी र एक्साभेटर) तथा वीरगन्ज महानगरपालिकाका ४ वटा डोजर परिचालन गरिएको छ।
बिहानैदेखि सुरु गरिएको अभियानले मुख्य सडक क्षेत्रमा संरचना हटाउने कामलाई तीव्रता दिएको छ।
सडक विस्तारसँगै यातायात व्यवस्थापन सहज बनाउने र बढ्दो सवारी चापलाई व्यवस्थित गर्ने लक्ष्य राखिएको सरोकारवालाले बताएका छन्।
लामो समयदेखि अवरुद्ध रहेको सडक विस्तार कार्यलाई आजदेखि सक्रिय रूपमा अघि बढाइएको हो।
स्थानीय प्रशासनको सुरक्षात्मक व्यवस्थापनबीच सञ्चालन भइरहेको अभियानले वीरगन्जको मुख्य सडक क्षेत्रको स्वरूप परिवर्तन गर्ने अपेक्षा गरिएको छ।