वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले मुख्य सडक अतिक्रमण हटाउने कार्य वैशाख ६ गतेदेखि सुरु गर्ने भएको छ।
कार्यालयद्वारा जारी सूचनाअनुसार गण्डक–मितेरी पुल सडक खण्डअन्तर्गत नेपाल–भारत सीमादेखि गण्डक नहर चोकसम्मको क्षेत्रमा रहेका संरचना, पसल तथा अन्य अवरोध हटाइनेछन्।
यसका लागि सम्बन्धित सबैलाई वैशाख ६ गते बिहान साढे ४ बज्नुअघि नै संरचना खाली गर्न निर्देशन दिइएको छ।
सडक विस्तार तथा संरक्षणका लागि राष्ट्रिय राजमार्गको मापदण्डअनुसार २५/२५ मिटर क्षेत्र खाली गराउने तयारी भइरहेको प्रशासनले जनाएको छ।
पर्साका सिडिओ भोला दाहालले समन्वयात्मक बैठकको निर्णयअनुसार अतिक्रमण हटाउन डोजर प्रयोग बताए । उनका अनुसार सबै तयारी गरिसकिएको छ, अब सिधै डोजर चलाइन्छ ।
प्रशासनले राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी र सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरेको छ।
निर्धारित समयभित्र अतिक्रमण हटाउन सहयोग नगरे कडाइका साथ कार्यान्वयन गरिने जनाइएको छ।
