काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमापार तस्करी नियन्त्रण र भन्सार प्रणाली सुधारका विषयमा मधेससहित दुई प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् ।
शुक्रबार गृहमन्त्री गुरुङले मधेश र लुम्बिनी प्रदेशका सांसदहरूसँग छलफल गर्दै सीमा व्यवस्थापन र भन्सार प्रणालीलाई प्रभावकारी बनाउने उपायबारे सुझाव लिएका हुन्।
छलफलमा सांसदहरूले विद्यमान भन्सार प्रणाली सुधार गर्ने, भन्सार दर पुनरवलोकन गर्ने, सीमामा निगरानी र अनुगमन संयन्त्रलाई सुदृढ बनाउने सुझाव दिएका थिए। त्यस्तै कृषि सामग्री र मलखादको भन्सार प्रक्रिया सरल बनाउनुपर्ने, साथै सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई दैनिक उपभोग्य वस्तु आयातमा निश्चित हदसम्म भन्सार छुट दिने मापदण्ड बनाउनुपर्ने प्रस्ताव पनि उठाइएको थियो।
मधेशका जनप्रतिनिधिहरूले सीमा क्षेत्रमा तस्करी नियन्त्रणका लागि प्रभावकारी संयन्त्र विकास गर्नुपर्नेमा जोड दिएका थिए।
गृहमन्त्री गुरुङले छलफलमा उठेका गृह मन्त्रालयसँग सम्बन्धित विषयहरू मन्त्रालयले कार्यान्वयन गर्ने र अर्थ मन्त्रालयसँग सम्बन्धित मुद्दामा समन्वयमार्फत समाधान खोजिने बताए।
