काठमाडौँ । देशका विभिन्न क्षेत्रमा आज पनि मौसम बदली भई वर्षा भएको छ।
केही ठाउँमा तापक्रम बढिरहेको भए पनि अन्य जिल्लाहरूमा मध्यम खालको वर्षा मापन गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् सरोज पुडासैनीका अनुसार आगामी केही दिनसम्म कोशी प्रदेशलगायत उच्च पहाडी तथा हिमाली क्षेत्रमा बदली रहनेछ भने मधेस प्रदेशसहित तराईका क्षेत्रमा गर्मी अझै बढ्नेछ।
मौसम छिनछिनमै परिवर्तन हुन सक्ने भएकाले आधिकारिक जानकारी नियमित रूपमा हेरेर (अपडेटेड) रहन उनले आग्रह गरेका छन्।
उनका अनुसार मधेस प्रदेश र तराई क्षेत्रमा तापक्रम वृद्धि हुने देखिएको छ, जबकि कोशी प्रदेशका उच्च भूभागमा भने बदलीको अवस्था कायम रहनेछ।
पछिल्लो तीन घण्टामा चितवनमा २२.६, तनहुँमा २५.८, कास्कीमा १४, लमजुङमा ८.८ र नवलपरासी (पूर्व) मा २० मिलिमिटर वर्षा भएको छ। साथै, खोटाङमा दिउँसो २५ मिलिमिटर वर्षा मापन गरिएको छ।
शनिबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा, लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
यसैबीच, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो दिन रहने अनुमान गरिएको छ।
हाल देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाइएको छ।