काठमाडौं । शंकर ग्रुप का अध्यक्ष शंकर अग्रवाल लाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानपछि रिहा गरिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बयान प्रक्रिया पूरा भएपछि उनलाई छाडिएको जनाएको हो।
विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुरका अनुसार अग्रवाललाई आवश्यक सोधपुछ सकिएपछि रिहा गरिएको हो।
“बयानको काम सम्पन्न भएपछि उहाँलाई छाडेका हौं,” उनले बताए।
केही दिनअघि मात्रै विभागले सम्पत्ति शुद्धीकरणको आशंकामा अनुसन्धान अघि बढाउँदै अग्रवाललाई नियन्त्रणमा लिएको थियो।
सोही क्रममा उनीसँग विस्तृत बयान लिइएको जनाइएको छ।
नेपालको प्रमुख औद्योगिक घरानामध्ये एक मानिने शंकर ग्रुपले स्टिल, सिमेन्ट, जलविद्युत् तथा उपभोक्ता सामग्रीलगायत विभिन्न क्षेत्रमा लगानी गर्दै आएको छ।
समूहअन्तर्गतको जगदम्बा स्टिल देशकै ठूलो इस्पात उद्योगमध्ये पर्छ।
यसैबीच, अनुसन्धानकै सिलसिलामा आइतबार ग्रुपका अर्का सञ्चालक सुलभ अग्रवाललाई पनि नियन्त्रणमा लिइएको छ। विभागले उनीमाथिको अनुसन्धान जारी रहेको जनाएको छ।