वीरगन्ज । पर्सा जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका अब बाहिर जिल्लामा नपठाइने भएको छ ।
नतिजा प्रकाशनलाई तीव्र बनाउने सरकारी रणनीतिअनुसार कपी जाँच प्रक्रिया जिल्लामै सम्पन्न हुने भएको छ । सरकारले परीक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्य लिएको छ ।
यही लक्ष्यलाई टेवा पुर्याउन उत्तरपुस्तिका परीक्षण प्रणालीमा परिवर्तन गर्दै पर्सामा पनि स्थानीयस्तरमै मूल्यांकन प्रक्रिया अघि बढाइएको हो । शिक्षा विकास तथा समन्वय इकाइ समिति पर्साका अनुसार परीक्षा सम्पन्न भएको तीन दिनभित्रै सम्बन्धित विषयको कपी जाँच सक्ने नीति लागू गरिएको छ ।
यसले विगतमा देखिने ढिलाइ घटाउने अपेक्षा गरिएको शिक्षा विकास तथा समन्वय इकाइ समिति पर्साका इकाइ प्रमुख मोतीप्रसाद भट्टराइले बताए । कपी परीक्षणका लागि विभिन्न सरकारी विद्यालयबाट दक्ष विषयगत शिक्षक छनौट भइसकेको जनाइएको छ ।
कुन–कुन सरकारी विद्यालयलाई तोकियो परिक्षण केन्द्र ?
छिटो नतिजा सार्वजनिक गर्नका लागि शिक्षा विकास तथा समन्वय इकाइ समिति पर्साले स्पेशल रणनीति तयार पारेको छ । छिटो छरितो उत्तरपुस्तिका जाँचका लागि विद्यालय छनौटदेखि लिएर शिक्षक चयन तथा अन्य व्यवस्थापनसमेत पूरा भइसकेको बताइएको छ ।
तोकिएको समयसीमाभित्र नतिजा ल्याउनेगरी व्यवस्थापन गरिएको शिक्षा विकास तथा समन्वय इकाइ समितिको भनाइ छ । यस वर्ष पर्सामा चारवटा सरकारी विद्यालयलाई परीक्षण केन्द्र तोकिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ समिति पर्साका अनुसार परीक्षण केन्द्रका रूपमा नृसिंह मावि, सिद्धार्थ मावि, श्री नेरामवि श्रीपुर र त्रिजुद्ध मावि चयन भएका छन् ।
परीक्षा सम्पन्न भएलगत्तै उत्तरकापी यही चारवटा परीक्षण केन्द्रमा पठाइने बताइएको छ । त्यसपछि छनौट भएका विषयगत शिक्षकले उक्त उत्तरपुस्तिकाको जाँच गर्ने व्यवस्था मिलाइएको शिक्षा समन्वय समितिका प्रमुख भट्टराइले जनाए ।
इकाइ समितिका प्रमुख भट्टराईका अनुसार प्रत्येक विषयका लागि ५५ जना विषयगत शिक्षक छनोट गरिएको छ । “छनोट गरिएका शिक्षकहरूले तीन दिनभित्र कपी जाँच सक्नुपर्ने व्यवस्था गरिएको छ,” उनले बताए ।
स्थानीयस्तरमै कपी परीक्षण गर्ने नयाँ मोडेलले समय बचत हुनुका साथै नतिजा छिटो सार्वजनिक गर्न सहज हुने विश्वास गरिएको छ । साथै, शिक्षकहरूको प्रत्यक्ष संलग्नताले काम थप प्रभावकारी हुने अपेक्षा लिइएको समन्वय समितिले जानकारी दिएको छ ।
उत्तरपुस्तिका जाँच गर्ने शिक्षकको मोबाइल भने बाहिर राख्ने र कसैसंग सम्पर्कमा बस्न नदिने कडा नीति लिइएको शिक्षा विकास तथा समन्वय इकाइ समितिले जनाएको छ ।