वीरगन्ज । बाराको निजगढ नगरपालिकामामा भएको सवारी दुर्घटनामा दुइजनाको मृत्यु भएको छ ।
नगरपालिकाको वडा नम्बर ९ पश्चिम लच्कामा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सर्लाही लालबन्दी नगरपालिका–७ का २२ वर्षीय वैभव ढुङ्गाना र निजगढ नगरपालिका–६ धियालटोलका २३ वर्षीय सुरेश श्रेष्ठ रहेका प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ढुङ्गानालाई उपचारका लागि एलएस न्यूरो अस्पताल परवानीपुर र श्रेष्ठलाई कलैयास्थित प्रादेशिक अस्पतालमा लगिएको थियो । अस्पताल पुर्याइएलगत्तै चिकित्सकले उनीहरुलाई मृत घोषित गरेका इलाका प्रहरी कार्यालय निजगढले बताएको छ ।
बुधबार सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्र.२–०४२प ९८२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बागमती प्र.३–००४ प ३६६१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटनामा परेको थियो ।
प्रहरीका अनुसार ढुङ्गानाले ९८२४ नम्बरको मोटरसाइकल र श्रेष्ठले ३६६१ नम्बरको मोटरसाइकल चलाइरहेका थिए ।