काठमाडौँ। वरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालद्वारा सम्मानित भएका छन्।
काठमाडौँको सामाखुशीस्थित लिंकन कलेजमा मंगलबार आयोजित कार्यक्रममा उनलाई सम्मान गरिएको हो।
कार्यक्रममा वरिष्ठ साहित्यकार तथा परराष्ट्रविद डा. जयराज आचार्यले बख्रेललाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए।
लमजुङ जिल्लाको साविक सूर्यपाल पञ्चायत (हाल मध्यनेपाल नगरपालिका) का समाजसेवी स्वर्गीय तिर्थराज न्यौपानेको स्मृतिमा स्थापित प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गर्दै आएको छ।
न्यौपानेले शिक्षाको विकासमा पुर्याएको योगदानलाई स्मरणीय बनाउन उनका परिवारद्वारा करिब १६ वर्षअघि प्रतिष्ठान स्थापना गरिएको हो।
सम्मानित बख्रेलले स्व. न्यौपानेसँग २०१८ सालमै आफ्नो भेट भएको स्मरण गर्दै समाज विकासमा शिक्षाको भूमिकाबारे उनको योगदान अतुलनीय रहेको बताए।
“उहाँले शिक्षाको विकासमा गरेको काम आज पनि प्रेरणादायी छ,” उनले भने।
मधेश प्रदेशको पर्सा जिल्लाको गादी क्षेत्रमा स्थायी बसोबास गर्दै आएका बख्रेल सामाजिक अभियन्ताका रूपमा परिचित छन्।
पञ्चायतकालमै उनले आफ्नो वडाको नेतृत्व गर्दै विद्यालय स्थापना तथा छुट्टै गाउँ पञ्चायत निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए।
उनकै नेतृत्वमा पर्साको गादी गाउँ पञ्चायत स्थापना भएको बताइन्छ।
कार्यक्रम स्व. न्यौपानेका पुत्र तथा साहित्यकार विजयराज न्यौपाने को अध्यक्षतामा सम्पन्न भएको थियो।
सो अवसरमा विभिन्न साहित्यकारहरूले आ–आफ्ना सिर्जना वाचन गरेका थिए भने समाजका अन्य योगदानशील व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो।