काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेतृत्वमा नयाँ जिम्मेवारी तोकेको छ।
पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता चयन गरेको हो।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठकले सर्वसम्मत रूपमा शाहलाई दलको नेता बनाउने निर्णय गरेको हो।
यो निर्णयसँगै रास्वपाभित्र नेतृत्व संरचना थप स्पष्ट बनेको जनाइएको छ।
दलको नेता चयन भएसँगै शाहको राजनीतिक भूमिकामा थप विस्तार हुने देखिएको छ।
संसदीय अभ्यासअनुसार दलको नेता नै प्रधानमन्त्रीका लागि प्रमुख दाबेदार हुने भएकाले उनको सम्भावित भावी भूमिकाबारे राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।
रास्वपाले पछिल्लो समय संगठन विस्तारसँगै संसदीय गतिविधिलाई पनि तीव्रता दिँदै आएको छ।
यस्तो अवस्थामा गरिएको नेतृत्व चयनलाई पार्टीको आगामी रणनीति र शक्ति सन्तुलनसँग जोडेर हेरिएको छ।