काठमाडौं । शुक्रबारदेखि देशका विभिन्न स्थानमा मौसम बदली भई मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबारसम्म यस्तो अवस्था कायम रहने जनाएको छ।
महाशाखाका अनुसार शुक्रबार दिउँसो हिमाली भू–भागका अधिकांश स्थानमा बदली रहनेछ भने पहाडी क्षेत्रमा सामान्यतया बदली र तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
देशका सबै प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थान र तराईका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
शुक्रबार राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भू–भागका थोरै स्थानमा यस्तै प्रकृतिको वर्षा र हिमपात हुन सक्ने जनाइएको छ।
तराईका केही स्थानमा समेत हावाहुरीसहित वर्षा हुन सक्ने चेतावनी दिइएको छ।
शनिबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहनेछ।
ती प्रदेशका केही स्थान तथा पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
शनिबार राति भने कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाले सम्भावित मेघगर्जन, चट्याङ, हावाहुरी र असिनाबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।