रौतहट । नेपाली कांग्रेसका मधेस प्रदेश सभापति एवम् पूर्वमन्त्री कृष्ण प्रसाद यादवले मधेसमा कांग्रेस नेतृत्वमा सरकार गठन नभएसम्म प्रदेशको समृद्धि र बिकास असम्भव रहेको दाबी गरेका छन् ।
रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर ४ मानपुर विशुनपूर्वामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
पूर्वमन्त्री यादवले बिकासको दृष्टिकोणले यो प्रदेश पछि पर्नुको सम्पूर्ण जिम्मा मधेशवादीहरु दलहरुले लिनुपर्ने जनाए ।
सबैभन्दा बढी जनसङख्या बसोबास गर्ने मधेस प्रदेशलाई सरकारले बजेटमा समेत उपेक्षा गर्ने गरेको उनको गुनासो छ । उनले भने, ‘मुलुकको ७ वटा प्रदेशहरुमध्ये मधेश प्रदेशमा सबैभन्दा बढी जनसङख्या छ, तर बजेटको हिसाबमा जहिल्यै पनि संघ सरकारले हेला गरेको छ ।’
देशको आधाभन्दा बढी जनसङख्या मधेसमा भएपनि सरकारले ११ अर्ब बजेट मात्र यो प्रदेशका लागि छुट्टाउनु दुखद भएको उनको भनाइ छ ।
प्रदेश सांसद समेत रहेका यादवले संघ सरकारले मधेशका लागि जनसङ्ख्याको आधारमा बजेट उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् ।