सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–१० सितापुरमा स्कारपियो गाडीले जन्तीको भीडमा ठक्कर दिँदा एक जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन्।
शुक्रबार साँझ करिब ७ बजेतिर बरहथवाबाट सितापुरतर्फ जाँदै गरेको डिएल ९ सी जेड ०७७७ नम्बरको स्कारपियो अनियन्त्रित भई विवाहमा सहभागी जन्तीमाथि जाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बरहथवा नगरपालिका–९ का करिब ५० वर्षीय नारायण जर्गामगरलाई उपचारका लागि नगर अस्पताल बरहथवा लगिएको थियो।
उपचारकै क्रममा साँझ करिब ८ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
दुर्घटनामा रौतहट र सर्लाहीका गरी ११ जना घाइते भएका छन्।
घाइतेमध्ये रौतहटको दोस्तिया पिपरिया निवासी ७० वर्षीय कमल पटेलको टाउकोमा गम्भीर चोट लागेको छ भने गढीमाई नगरपालिका–११ की ४५ वर्षीया बन्धना पटेल बेहोस अवस्थामा उपचाररत रहेको प्रहरीले जनाएको छ।
यसैगरी बरहथवा–१० का रुपेश मण्डल (१८), प्रतिमा कुमारी पटेल (१५), दिलिप राय (१९), चन्दन पासवान (२३), दीपिका जैसवाल (१२), रामजी राय (२०), मुकेश राउत (२३), रामनारायण ठाकुर (५५) र गुलाबकुमारी मण्डल (४५) पनि दुर्घटनामा घाइते भएका छन्।
घाइतेहरूको बरहथवास्थित हनुमन्त नगर अस्पताल र एडभान्स अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले स्कारपियो गाडी र चालक बरहथवा नगरपालिका–१२ लौकठका नरेश ठाकुरलाई नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।