वीरगञ्ज । पर्सा जिल्लाभर आज बिहान ७ बजेदेखि प्रतिनिधिसभा सदस्यका लागि मतदान शान्तिपूर्ण वातावरणमा जारी छ ।
विभिन्न मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताको उल्लेख्य उपस्थिति देखिएको छ भने कतिपय स्थानमा मत हाल्न मतदाताहरू लामबद्ध भएर लाइनमा बसेका छन् ।
जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार जिल्लाका सबै मतदान केन्द्रहरूमा कडा सुरक्षा व्यवस्थाबीच मतदान प्रक्रिया अघि बढिरहेको छ । हालसम्म कुनै पनि अप्रिय घटना तथा उच्छृङखल गतिविधि नभएको प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले यहाँ शान्तिपूर्ण रूपमा मतदान भइरहेको जानकारी दिए । उनका अनुसार मतदान केन्द्रहरुमा सुरक्षा निकाय र प्रशासनिक टोलीको कडा निगरानी/ अनुगमन छ ।
“सबै केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । हामी निरन्तर फिल्डमै छौं र अवस्था नियालिरहेका छौं,” उनले भने, “हालसम्म कति मत खस्यो भन्ने यकिन तथ्यांक आएको छैन । विभिन्न मतदान केन्द्रबाट विवरण संकलन भइरहेको छ, सबै डाटा प्राप्त भएपछि मात्रै स्पष्ट तथ्यांक सार्वजनिक हुनेछ ।”
आज देभैभर प्रतिनिधि सभा सदस्य पदका लागि मतदान जारी छ । मतदान प्रक्रिया साँझ ५ बजेसम्म चल्नेछ ।