सिरहा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिका–३ जमनटोकी नजिक आइतबार राति भएको सवारी दुर्घटनामा दुई युवकको मृत्यु भएको छ भने एक किशोर गम्भीर घाइते भएका छन्।
दुर्घटनामा धनगढीमाई नगरपालिका–८ का ३७ वर्षीय सन्तोष महतो र २० वर्षीय अमन रायको ज्यान गएको प्रहरीले जनाएको छ।
गोलबजारबाट पूर्वतर्फ आउँदै गरेको स.५प. ४७५९ नम्बरको मोटरसाइकल र धरानबाट भैरहवातर्फ जाँदै गरेको लु२ख १०८५ नम्बरको बस एकआपसमा ठोक्किँदा उनीहरू गम्भीर घाइते भएका थिए।
घाइते दुवै जनालाई तत्काल स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्स्पेक्टर सुधन केसीले जानकारी दिए।
उक्त दुर्घटनामा १७ वर्षीय धिरज मण्डल सख्त घाइते भएका छन्।
मृतक र घाइते तीनै जना एउटै मोटरसाइकलमा सवार रहेको खुलेको छ।
गम्भीर घाइते मण्डलको विराटनगरमा उपचार भइरहेको छ।
मृतकहरूको शव पोष्टमार्टमका लागि रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल, लहानमा राखिएको छ।
दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।