काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) पर्वले नेपाली समाजमा आपसी सद्भाव, एकता र सहिष्णुता अझ मजबुत बनाउन प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।
होलीको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको मंगलकामना व्यक्त गरेका हुन्।
उनले पर्वले समाजमा देखिएका विकृति, विसङ्गति र कुरीतिहरू हटाउँदै मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धनमा टेवा पु¥याओस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।
सन्देशमा असत्यमाथि सत्य, अन्यायमाथि न्याय, अधर्ममाथि धर्म र दूराचारमाथि सदाचारको विजयको प्रतीकका रूपमा होली मनाइने उल्लेख गर्दै राष्ट्रपति पौडेलले वैरभाव त्यागी प्रेम, आत्मीयता र सद्भावका साथ एकापसमा रङ र अबिर साटासाट गर्ने परम्परालाई अझ सभ्य र सुसंस्कृत रूपमा अगाडि बढाउन आग्रह गरेका छन्।
वसन्त ऋतुको आगमनसँगै देशभर हर्षोल्लासका साथ मनाइने होली पर्व रङहरूको उत्सव मात्र नभई सामाजिक एकताको सन्देश बोकेको चाड भएको उनको भनाइ छ।
परम्पराअनुसार रङ्गीचङ्गी ध्वजापताकाले सजिएको चिर ठड्याएर सुरु हुने यो पर्व पूर्णिमाको राति चिर दहनसँगै समापन हुने गर्छ।
राष्ट्रपति पौडेलले होलीमा प्रयोग हुने विभिन्न रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै विविधताबीचको एकता नै नेपालको सुन्दर पहिचान भएको बताएका छन्।
उनले यस पर्वले सबै नेपालीलाई आपसी सम्मान, सहकार्य र राष्ट्रिय एकताको भावनामा अझ बलियो बनाओस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।