वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१५ महावीर चोकमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ।
म.प्र.०३–०३८ प ९४७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक बारा परवानीपुर गाउँपालिका–३ का २८ वर्षीय राकेश यादव गम्भीर घाइते भएका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार कुकुरले अचानक बाटो काट्दा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको देखिएको छ।
दुर्घटनापछि गम्भीर अवस्थामा रहेका यादवलाई तत्काल नारायणी अस्पताल पुर्याइएको थियो।
उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ।
मोटरसाइकलमा सवार अर्का एक जना घाइतेको न्यूरो अस्पताल वीरगन्जमा उपचार भइरहेको छ।
उनको अवस्था मध्यम रहेको बताइएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।