सर्लाही । सीमावर्ती क्षेत्रमा निगरानी तीव्र बनाउँदै आएको सशस्त्र प्रहरी बल नेपाल ले सर्लाहीमा ठूलो परिमाणमा भन्सार छलीका सामान बरामद गरेको छ।
पछिल्लो अपरेशनमा करिब ३२ लाख ८३ हजार ७५० रुपैयाँ बराबरका अवैध सामग्री र सवारी साधन नियन्त्रणमा लिइएको हो।
विशेष सूचनाका आधारमा भारतबाट भन्सार छली गरी सामान ल्याइँदै गरेको जानकारी पाएपछि खटिएको टोलीले सर्लाहीको पर्सा–५ स्थित सीमा नाकामा निगरानी बढाएको थियो।
प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक लिला बहादुर कार्कीको कमाण्डमा गएको टोलीले मोटरसाइकलमार्फत ल्याइएका सामान दुई वटा पिकअप गाडीमा लोड गरिँदै गरेको अवस्थामा फेला पारेको जनाएको छ।
बरामद सामग्रीमध्ये १ हजार ७८५ केजी भारतीय फूल रहेको छ, जसको अनुमानित मूल्य ७ लाख १४ हजार रुपैयाँ आकलन गरिएको छ।
त्यसैगरी विभिन्न प्रकारका कपडा बरामद गरिएको छ, जसको मूल्य करिब ८ लाख ८३ हजार ७५० रुपैयाँ रहेको प्रहरीको भनाइ छ।
घटनास्थलबाट दुई वटा पिकअप गाडी र चार वटा मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ।
ती सवारी साधनको अनुमानित मूल्य करिब २४ लाख रुपैयाँ बराबर रहेको जनाइएको छ।
बरामद गरिएका सम्पूर्ण सामान र सवारी साधन आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन सर्लाही भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सीमावर्ती क्षेत्रमा पछिल्लो समय अवैध गतिविधि नियन्त्रणका लागि निगरानी र गस्ती अझ कडा बनाइएको सुरक्षा स्रोतले उल्लेख गरेको छ।