जनकपुर । मधेस प्रदेशका ३३ सहित देशभरका ३९ वटा स्थानीय तहका शिक्षकहरुले तलब तथा चाडपर्व भत्ता नपाएको खुलासा भएको छ । मधेसका पर्सा, रौतहट, महोत्तरी, धनुषा, सिरहा र सप्तरीसहित ३९ वटा स्थानीय तहका शिक्षकहरुले चाडपर्वको समयमा तलब तथा भत्ता नपाएको खुलासा भएको हो ।
मासिक रूपमा तलब भत्ता उपलब्ध गराउने सरकारको नाराको खिल्ली उडाउँदै ती पालिकाहरूले शिक्षकहरूलाई साउनदेखिको तलब भत्ता उपलब्ध नगराएका पाइएको हो ।
महासचिव शाहीका अनुसार अधिकांश पालिकाले नगर तथा गाउँ परिषद् नबसेको भन्दै तलब दिइएको छैन । कतिपयमा आपसीको द्वन्द्वका कारण समेत शिक्षकहरूले तलब पाएका छैनन् ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अनुसार १२ जिल्लाका ३९ वटा पालिकाले संघीय सरकारले पठाएको पैसा समेत तलब नदिई रोकेका हुन् ।

सङ्घीय सरकारबाट उपलब्ध सशर्त अनुदान अनुसार स्थानीय तहहरूले समयमा नै तलब भत्ता वितरण गर्नुपर्ने हुन्छ । तर, हालसम्म ती पालिकाहरूले शिक्षकहरूको चाडपर्व खर्च तथा नियमित तलब भत्ता निकासा नगरेको सङ्गठनको भनाइ छ ।
जसले गर्दा शिक्षक कर्मचारीहरू समयमा नै तलब भत्ता प्राप्त गर्ने अधिकारबाट वञ्चित भएको शिक्षकहरुको गुनासो छ । सङ्गठनले विज्ञप्ति जारी गरेर तत्काल तलब निकासा गर्न समेत माग गरेको छ ।
मधेसका कुन जिल्लाबाट कति ?
नेपाल राष्ट्रिय शिक्षक संगठनका अनुसार तलब तथा भत्ता नपाउनेहरुको लाम मधेश प्रदेशमा बढी छ । अर्थात् सबैभन्दा बढी मधेस प्रदेशका स्थानीय तहहरूले तलब भत्ता नपाएको तथ्यांक छ ।
मधेसबाट मात्र ३३ वटा स्थानीय तहहरुले शिक्षकहरुलाई तलब तथा भत्ता उपलब्ध नगराएको आंकडा छ । यसरी सरकारको पैसा समेत नपठाउने प्रदेशका पालिकाहरुमध्येबाट पनि सबैभन्दा बढी सप्तरी जिल्ला छ ।
सप्तरीका १० वटा पालिकाले नै उनीहरुले पाउने सेवा सुविधा रोकेका छन् । सप्तरीका राजविराज, कञ्चनरुप, हनुमाननगर कंकालनी, बोदेबरसाइन नगरपालिका, तिरुहत, छिन्नमस्ता, विष्णुपुर, अग्निसाइर, कृष्णासरवन, रुपनी र राजगढ गाउँपालिका लगायतका छन् ।
यसैगरी त्यसपछिको सूचिमा प्रदेश राजधानी धनुषा नै परेको छ । त्यहाँका ९ वटा पालिकाका शिक्षकहरुले तलब तथा भत्ता नपाएका रेकर्ड छ । ती पालिकाहरु जनकपुर उपमहानगरपालिका, कमला, क्षिरेश्वरनाथ, सबैला, र नगराइन नगरपालिका, लक्ष्मीनिया, धनौजी, बटेश्वर र जनकनन्दनी गाँउपालिका छन् ।
यस्तै रौतहटका ५ पालिकाहरु बृन्दावन, माधवनारायण, गुजरा, फतुवाबिजयपुर र बौधीमाई नगरपालिका, पर्सा जिल्लाबाट बहुदरमाई नगरपालिका, बिन्दबासीनी, पकाहामैनपुर र धोबिनी गाँउपालिका गरी ४ वटा स्थानीय तहले शिक्षकहरुको पैसा रोकेको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै महोत्तरीबाट समेत बलवा नगरपालिका, साम्सी, सोनमा र एकडारा गाउँपालिका गरी ४ पालिका र सिरहाको कल्याणपुर नगरपालिका गरी मधेशबाट मात्र ३३ वटा स्थानीय तहहरुले शिक्षकहरुलाई चाडपर्वको समयमा समेत तलब तथा भत्ता नदिएको जनाइएको छ ।