ट्रेन्डिङ

सर्लाही प्रशासनको होली लक्षित निर्देशन : मदिरा बिक्री बन्द, बिदेशी नम्बरका सवारी चलाउन रोक

उल्लंघन गर्नेलाई कारबाही

सर्लाही । होली पर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय सर्लाहीले सुरक्षा योजना जारी गरेको छ ।

प्रशासनले सूचना जारी गर्दै कडा सुरक्षा निर्देशिका सार्वजनिक गरेको हो ।

जसअनुसार आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को संवेदनशीलता र होली पर्वलाई मर्यादित बनाउन प्रशासनले विशेष निर्णय गर्दै विदेशी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाउने तथा मदिराजन्य पदार्थको बिक्री वितरण पूर्णरुपमा बन्द गर्ने प्रशासनले जनाएको छ ।

यसैगरी फागुन १५ गतेदेखि २२ गतेसम्म विदेशी नम्बर प्लेटका दुई पाङ्ग्रे, चार पाङ्ग्रे लगायतका सवारी साधन चलाउन नपाइने प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाले बताए ।

उनका अनुसार आदेश अवज्ञा गरेको पाइएमा तत्काल प्रहरीले नियन्त्रणमा लिनेछन् ।

यस्तै, फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म मदिराजन्य पदार्थको बिक्री वितरण पूर्ण रुपमा निषेध गरिएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी कडरीयाले मादक पदार्थ सेवन गरी सवारी चलाउने, जबर्जस्ती रङ लगाउने, लोला हान्ने, पानी तथा हिलो छ्याप्ने, नमेटिने रंग लगाउने, जिस्काउने, जबरजस्ती नशालु पदार्थ खुवाउने, डिजे बजाउने, अमर्यादित व्यवहार गर्ने तथा शान्ति सुरक्षामा असर पर्ने गतिविधि नगर्न कडा निर्देशन दिएका छन् ।

शान्ति सुरक्षा भंग गर्ने जो–कोहीमाथि प्रचलित कानुन बमोजिम कारबाही हुने उनको चेतावनी छ ।

जिल्ला प्रशासनले सभ्य, सुरक्षित र मर्यादित तरिकाले होली पर्व मनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै