काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा बसमा करिब ४६ जना यात्रु सवार रहेको अनुमान गरिएको छ।
दुर्घटनापछि घटनास्थलमा व्यापक उद्धार कार्य जारी छ भने हालसम्म १७ जनाको मृत्यु भएको पुष्टि भएको छ।
सडकबाट करिब ३ सय मिटर तल नदीमा खसेको बससम्म पुग्न उद्धार टोलीलाई कठिनाइ भइरहेको छ।
नदीको तीव्र बहावका बीच डुंगाको सहायताले यात्रुहरूलाई बाहिर निकालेर बगरमा जम्मा गर्ने र त्यसपछि एम्बुलेन्समार्फत अस्पताल पठाउने काम भइरहेको छ।
घटनास्थलमा रहेका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेले बसमा ४६ जना रहेको प्रारम्भिक विवरण आएको जानकारी दिँदै खोज तथा उद्धार कार्य तीव्र पारिएको बताए।
दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालित छ।
सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरी नेतृत्वको टोली तथा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको विशेष टोली खटिएको छ।
प्रमुख जिल्ला अधिकारीसहितको प्रशासनिक टोलीले उद्धार कार्यको समन्वय गरिरहेको छ।
मृतक र घाइतेहरूको सनाखत हुन सकेको छैन।
दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।