ट्रेन्डिङ

भावी प्रधानमन्त्री बालेन शाहको नागरिकतामा थर विवाद, के हुन्छ कारबाही ?

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह गम्भीर नागरिकता विवादमा फसेका छन्।

महोत्तरीबाट २०६३ सालमा लिएको मूल नागरिकतामा ‘बालेन्द्र साह’ उल्लेख भए पनि २०७९ सालमा काठमाडौंबाट लिएको प्रतिलिपिमा ‘बालेन्द्र शाह’ बनाइएको कागजात सार्वजनिक भएपछि राजनीतिक वृत्तमा तीव्र बहस चर्किएको छ।

पहिलो नागरिकता ‘साह’, प्रतिलिपिमा ‘शाह’ — किन र कसरी?

२०६३ पुस ६ गते महोत्तरीबाट जारी ५१९२ नम्बरको नागरिकतामा उनको थर ‘साह’ उल्लेख छ।

सो नागरिकता तत्कालीन प्रशासकीय अधिकृत प्रदीपकुमार निरौलाले जारी गरेका थिए।

तर काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भइसकेपछि २०७९ असार १९ गते लिएको प्रतिलिपिमा थर ‘साह’बाट ‘शाह’मा रूपान्तरण गरिएको देखिन्छ।

यति मात्र होइन, बालेनका स्वर्गीय बुवा रामनारायण साह र आमा ध्रुवदेवी साहको नामसमेत पछिल्लो प्रतिलिपिमा ‘शाह’ बनाइएको पाइएको छ।

२०७९ मै जारी १११८५१२७ नम्बरको प्रतिलिपिमा बुवाको नाम ‘रामनारायण शाह’ र आमाको नाम ‘ध्रवदेवी शाह’ उल्लेख छ। जबकि पुराना नागरिकता र बसाइँसराइ प्रमाणपत्रमा सबैको थर ‘साह’ नै देखिन्छ।

काठमाडौं महानगरपालिका वडा नं. ९ को कार्यालयबाट २०७६ कार्तिक ८ मा जारी बसाइँसराइ प्रमाणपत्रमा पनि परिवारका सबै सदस्यको थर ‘साह’ नै उल्लेख छ।

तर त्यसपछि लिइएका प्रतिलिपिहरूमा दाइ कौशलेन्द्रबाहेक सबैको थर ‘शाह’ बनाइएको देखिएको छ।

दाइ कौशलेन्द्रले २०७८ मंसिर १५ मा लिएको प्रतिलिपिमा भने पुरानै ‘कौशलेन्द्र साह’ कायम छ।

एउटै बाबु–आमाबाट जन्मिएका दाजुभाइमध्ये एक ‘साह’ र अर्को ‘शाह’ — यो संयोग मात्र हो कि योजनाबद्ध परिवर्तन? यही प्रश्न अहिले सार्वजनिक बहसको केन्द्रमा छ।

म मधेसको छोरो’ भनाइपछि पहिचानमै प्रश्न

५ माघमा जनकपुरको सभामा बालेनले आफूलाई “मधेसको छोरो” भन्दै पहिचानको राजनीति गरेका थिए।

तर मधेसमा प्रचलित ‘साह’ थर मूल नागरिकतामा र राजपरिवारसँग जोडिने ‘शाह’ पछिल्लो प्रतिलिपिमा देखिनुले उनको राजनीतिक विश्वसनीयतामाथि प्रश्न उठेको छ।

पहिचानको भाषण र नागरिकताको विवरणबीच देखिएको फरकलाई लिएर आलोचकहरूले दोहोरो चरित्रको आरोप लगाएका छन्।

कानुन के भन्छ? रद्दसम्मको व्यवस्था

नेपाल नागरिकता ऐन २०६३ को दफा १२ अनुसार झुटो विवरण दिई नागरिकता लिएको प्रमाणित भए तोकिएको अधिकारीले त्यस्तो नागरिकता रद्द गर्न सक्ने स्पष्ट व्यवस्था छ।

दफा १७ ले ‘सानातिना त्रुटि’ मात्र सच्याउन पाइने भन्छ—जस्तै ‘कुमारी’, ‘देवी’, ‘बहादुर’, ‘प्रसाद’ जस्ता शब्दको थपघट वा आकार–इकारको सामान्य फरक।

तर ‘साह’ र ‘शाह’ जस्तो थर नै परिवर्तनलाई सानातिना त्रुटि मान्न मिल्छ कि मिल्दैन? यदि आवश्यक प्रमाण र प्रक्रिया बिना थर रूपान्तरण गरिएको ठहर भयो भने कानुनी परिणाम गम्भीर हुन सक्छ।

दफा १२ को दायरामा परे नागरिकता नै रद्द हुन सक्ने कानुनी जोखिम देखिन्छ।

प्रशासन मौन

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको दाबी भइरहे पनि औपचारिक पुष्टि भएको छैन। बालेन पक्षबाट पनि अहिलेसम्म स्पष्ट स्पष्टीकरण आएको छैन—यो प्रशासनिक त्रुटि हो कि नियोजित संशोधन?

प्रधानमन्त्रीको दाबी गर्ने नेताको नागरिकतामै यस्तो गम्भीर प्रश्न उठ्नु सामान्य विषय होइन। पहिचानको राजनीति गर्ने नेता आफ्नै पहिचानमा दोधारमा देखिनु संयोग मात्र हो कि रणनीति?

अब जवाफ दिनुपर्ने समय बालेनकै हो—उनी ‘साह’ हुन् कि ‘शाह’? र यदि परिवर्तन भएको हो भने कुन कानुनी आधारमा? देशको नेतृत्व दाबी अघि, आफ्नै नागरिकताको सत्य सार्वजनिक गर्नु उनको दायित्व होइन र?

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै