ट्रेन्डिङ

रौतहट क्षेत्र नम्बर- १ का मतदाता भन्छन- २० वर्षदेखि अधुरो बागमती पुल कहिले बन्छ ?

वीरगन्ज। २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा रौतहट क्षेत्र नम्बर–१ मा चुनावी चहलपहल तीव्र बनेको छ।

देशको अन्य भागजस्तै यहाँ पनि चुनावी सरगर्मी बढेको छ।

पूर्वप्रधानमन्त्रीदेखि पटकपटक मन्त्री बनेका हेभिवेट उम्मेदवारहरूको मैदानमा उपस्थितिले निर्वाचनको प्रतिस्पर्धा अझ कडा बनाएको छ।

यद्यपि, क्षेत्रका मतदाता भने पुराना दलप्रति आक्रोशित देखिएका छन् र केही मतदाताले यसपटक भोट नदिनेसम्मको चेतावनी दिएका छन्।

मधेस सन्चारसॅंगको कुराकानीमा  रौतहट–१ का अधिकांश मतदाताले पुराना दलका नेताहरूले २० वर्षमा क्षेत्रको विकास नगरेको गुनासो पोखेका छन्।

बागमती नदीमा पुल निर्माण नहुँदा यमुनामाइ, दुर्गा भगवती गाउँपालिका र राजदेवी नगरपालिकाका जनजीवन कठिन बनेको छ।

राजदेवी–३ का राजाराम राउत भन्छन्, “हरेक चुनावमा नेता भाषण गर्छन्, तर ती भाषण कागजको खोस्टो जस्तै भइसकेको छ।

ठूला नेता भए पनि सडक, पुल, रोजगारी र कृषिका समस्या ज्यूँकाँत्यू छन्।

पुल नहुँदा आवतजावत गर्न स्थानीय डुङ्गा प्रयोग गर्छन्।

रोजगारी नपाएर युवाहरू भारतको पञ्जाब मजदुरी गर्न जान्छन्। अब पुराना नेतालाई यसपटक पाठ सिकाउने बेला आएको छ।”

बाढीले धानबाली नष्ट भए पनि क्षतिपूर्ति वा राहत नपाएको गुनासो छ।

दुर्गा भगवती–५ की पार्वती देवी भन्छिन्, “चुनाव आउँछ, नेताहरू आश्वासन दिन्छन्, तर चुनाव सकिएपछि सबै बिर्सिन्छन् ।यमुनामाइ र दुर्गा भगवती बीचको पुल २० वर्षअघि शिलान्यास भयो तर अहिलेसम्म निर्माण भएको छैन। मुख्य सडक पक्की भए पनि अन्य सडकहरू अझै बेहाल छन्।”

यमुनामाइ–७ का रफिक मियाँ ले पुराना दलका नेतामा विश्वास नरहेको बताए।

गौर–१ का सुरेश ठेलावाला (भगतजी) ले भने, जेनजी आन्दोलनले ल्याएको परिवर्तनले मनमा खुसी दिएको र अब जनता आफ्नो ब्यालेटबाट नयाँ नेतृत्वमा विश्वास राख्ने बताए।

उनका अनुसार क्षेत्रका धेरै समस्या अझै ज्यूँकाँत्यू छन् – सडक, नाला, रोजगारी, शिक्षा, चापाकल र घर।

दलित समुदायका लागि आधारभूत सुविधाको अभाव रहेको गुनासो छ।

बडहर्वा निवासी छठु साह भन्छन्, “अब नेताका लागि होइन, जनताको जीवन सुधार्ने उम्मेदवारलाई प्रतिनिधि बनाउने बेला आएको छ। बाटो, नाला, पुल र किसानका समस्या समाधान गर्ने नेतालाई अब भोट दिनेछौं।”

मतदाता भन्छन्, “ठूला नेता त बनाइयो, तर विकास पाएको छैन। अब पुराना आश्वासन होइन, वास्तविक परिवर्तन चाहिन्छ।”

रौतहट क्षेत्र नम्बर–१ मा ४१ वटा वडा छन्, र यस निर्वाचनमा जनता परिवर्तन र विकासको आशमा नयाँ नेतृत्वतर्फ उन्मुख छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै